

भदौ ११, काठमाडौं । नेकपा (एमाले) ले एक जना पार्टी सदस्यले कम्तीमा दुई जना नयाँ मतदाता थप्ने र पाँच जना पुरानाको संरक्षण अभियान सञ्चालन गर्ने भएको छ । पार्टी कार्यालय च्यासलमा केन्द्रीय कमिटी बैठकमा उक्त योजना पेश भएको हो । शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले बहुमत प्राप्त गर्ने रणनीतिमा पार्टी सदस्यलाई २ मत थप्ने र ५ मत संरक्षण गर्ने जिम्मेवारी दिने निर्णय गरेको हो ।

‘पार्टीलाई बहुमतमा पुर्याउने आवश्यक पर्ने ६ प्रतिशत मत पुर्याउनका लागि प्रत्येक पार्टी सदस्यले २ नयाँ मत थप्ने र ५ मत संरक्षण गर्ने नीति आमरुपमा अघि बढाउने निर्णय गरेको छ,’ प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने ।
प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमालेका ८ लाख पुराना सदस्य छन् । थपिएका करिब ३ लाखको अद्यावधिक हुन बाँकी रहेको उनले बताए । ११ लाख पार्टी सदस्यले दुई जना मतदाता थप्दा एमालेको पक्षमा २२ लाख मत थपिने पार्टीको आंकलन छ ।











