चर्को शुल्क लिने विद्यालयको अनुगमन हुने

स्काई न्यूज /भदौं ११, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयहरुले कक्षा ११ र अन्य तहका विद्यार्थीहरुलाई चर्को शुल्क लिएको विषयमा सरकारले अनुगमन गर्ने बताएका छन् । आइतबार नेपाली विद्यार्थी संघले समग्र शैक्षिक विकासका लागि तात्कालिक तथा संरचनागत समस्या सम्बोधन गर्न मागसहितको ज्ञापन–पत्र बुझेप्रश्चात मन्त्री पौडेलले यस्तो बताएका हुन् ।


मन्त्री पौडेललाई विद्यार्थी संघले २९ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ । मन्त्री पौडेलले संघको ज्ञापन पत्रमा माग गरिएको पछिल्लो समयमा विद्यालयहरूले विद्यार्थी भर्नामा चर्को शुल्क लिएको विषयमा अनुगमन गर्ने तयारीमा रहेको बताए ।

त्यस्तै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले भर्खरै सम्पन्न एसईई परीक्षा उत्तिर्ण भएर कक्षा ११ मा भर्ना भएका विद्यार्थीको विद्यालयहरूले भर्ना शुल्क ५० प्रतिशत छुट गर्न माग गरे । उनले कोरोना महामारीको मारमा परेका विद्यार्थीका अभिभावकलाई विद्यालयहरूको भर्ना शुल्कको नाममा लुट्ने काम गरेको दाबी गरे । शेर्पाले विद्यार्थीहरूबाट विद्यालयहरूले चर्को शुल्क लिएर लुट्दा समेत विद्यार्थी संगठन र शिक्षा मन्त्रालय मुकदर्शक भएर बसेको बताए ।

Translate »