सुर्खेतका साढे ५४ हजारले जग्गा मागें

स्काई न्यूज /भदौं १४, सुर्खेत ।  सुर्खेतका साढे ५४ हजार नागरिकले राष्ट्रिय भूमि आयोगमा जग्गाको लालपूर्जा प्राप्तिका लागि निवेदन दिएका छन् । जग्गा र जग्गाको लालपूर्जा माग गर्दै कुल ५४ हजार ५ सय ९७ जना नागरिकले निवेदन दिएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतले जनाएको छ । ती मध्ये ४८ हजार ७ सय २ जना अव्यवस्थित बसोबासी, ५ हजार ८ सय ९५ जना भूमिहिन, दलित र सुकुम्बासी रहेका छन् ।

निवेदन दिनेहरुमा वीरेन्द्रनगर नगरपालिकाका सबैभन्दा धेरै र चिङ्गाड गाउँपालिकाका सबैभन्दा थोरै नागरिक छन् । वीरेन्द्रनगरबाट १३ हजार ८ सय ८० जना र चिङ्गाडबाट ८ सय १५ जनाले निवेदन दिएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतका अध्यक्ष श्रीधर पौड्यालले जानकारी दिए । उनले चौकुने गाउँपालिकाबाट ४ हजार ४ सय ८१ जना, पञ्चपुरी नगरपालिकाबाट ७ हजार ३ सय जना र वराहताल गाउँपालिकाबाट ४ हजार ६ सय ६३ जनाले जग्गा माग गर्दै आयोगमा निवेदन दिएको बताए ।

जिल्लाकै सिम्ता गाउँपालिकाबाट ३ हजार २ सय ७२ जना, गुर्भाकोट नगरपालिकाबाट ६ हजार ४ सय ७० जना, भेरीगंगा नगरपालिकाबाट ८ हजार ९ सय ५७ जना र लेकवेसी नगरपालिकाबाट ४ हजार ७ सय ५७ जनाले निवेदन दिएको उनको भनाइ छ ।

छुटेकालाई थप ३५ दिने म्याद
राष्ट्रिय भूमि आयोगले जग्गा तथा लालपूर्जा प्राप्तिका लागि निवेदन दिन छुटेकालाई पुनः ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ । लगत संकलन गर्न छुटेका दूरदराजका नागरिकलाई अबको ३५ दिनभित्र निवदेन दिन पुर्नः सूचना प्रकाशन गरेको आयोगले जनाएको छ । सुर्खेतमा करिब ६० हजार जग्गा अव्यस्थित बसोबास, भूमिहिन, दलित र सुकुम्बासीहरु रहेको अनुमान गरिएको छ ।

Translate »