धुमधामले मनाईयो तीज

स्काई न्यूज /भदौं १४, सुर्खेत । नेपाली नारीको महान् पर्व तीज सुर्खेतसहित देशैभर धुमधामले मनाईएको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मंगलबार देवादिदेव महादेवको पूजा आराधना गरी महिलाहरुले हरितालिका (तीज) पर्व मनाएका छन् । पर्वका अवसरमा सुर्खेत सदरमुकाम वीरेन्द्रनगरसहित जिल्लाका चौकुनेको गुटु, पञ्चपुरीको बाबियाचौर, साल्कोट, बराहतालको बड्डीचौर, छिन्चु, मेहलकुना, सिम्तालगायतका विभिन्न स्थानमा तीज पर्व मनाईएका सूचनाहरु प्राप्त भएको छ ।

वीरेन्द्रनगर स्थित खुला मञ्चमा वागिना समूहले सद्भावना मेलाको कार्यक्रमको आयोजना गरि तीज कार्यक्रम उत्साहका साथ मनाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले महिला दिदीबहीनिहरुका लागि विषेश पर्वको रुपमा रहेको तीज पर्वले संस्कार, संस्कृतिलाई बचाई राख्न ठूलो सहयोग पुगेको बताईन् । उनले सद्भावना मेलाप्रति धन्यवाद व्यक्त गर्दै हरितालिका तीजको अवसरमा कार्यक्रम गरिने कार्यक्रमलाई पालिकाको समेत सहयोग रहने प्रतिवद्धता जनाईन् ।

यता मंगलबार देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । हरितालिका पर्व समापनका अवसरमा केही मानिसले आज पूजा लगाएका छन् । आज पूजा नलगाउनेले भने भाद्र शुक्ल चौथीका दिन बिहान गोदान एवं पूर्णपात्र दान गरेर व्रत समापन गर्ने चलन छ ।

Translate »