जैसीलाई भारतको मानार्थ डाक्टरेट उपाधी

स्काई न्यूज /भदौं १८, सुर्खेत ।  योग प्रशिक्षक शिवराज जैसीलाई भारतको सोरेट्स सोशल रिसर्च यूनिभरसिटी दिल्लीले मानार्थ डाक्टरेट (पीएचडी) उपाधी प्रदान गरेको छ । यूनिभरसिटीले शनिबार भारतको राजधानी नयाँ दिल्लीमा भव्य कार्यक्रमको आयोजना गरि सुर्खेतका योग प्रशिक्षक जैसीलाई मानार्थ पीएचडी उपाधी प्रदान गरेको हो । उनलाई भारत सरकारका आईएएस अधिकारी डाक्टर तनु जैन र संयुक्त सचिव (डीआरडीओ) डाक्टर बत्सल्याले मानार्थ पीएचडी उपाधी प्रदान गरेका हुन् । नेपालमा योग तथा मेडिटेशनको विकासमा योगदान गरे वापत पहिलो पटक नेपालबाट जैसीलाई यूनिभरसिटीले मानार्थ (पीएचडी) उपाधी प्रदान गरेको हो ।

यो उपाधीसँगै योग शिक्षा र योग जागरण अभियानले नेपालमा थप विस्तारमा टेवा पुग्ने अपेक्षा यूनिभरसिटीको रहेको छ । यूनिभरसिटीले प्रदान गरेको मानार्थ डाक्टरेट उपाधीबाट आफुलाई योग जागरण अभियान अगाडि बढाउन अतिरिक्त ऊर्जासँगै नैतिक जिम्मेवारी बढेको जैसीले बताए । यता योग तथा योगसँग जुडेका कर्णालीका योग शिक्षक एवम् योग साधकहरुले जैसीले प्राप्त गरेको मानार्थ डाक्टरेट (पीएचडी) उपाधीप्रति खुशी व्यक्त गर्दै भारतमा नेपालको शिर उच्च बनाएको प्रतिक्रिया दिएका छन् ।

योग प्रशिक्षक जैसी विश्वविख्यात योग ऋृषि स्वामी रामदेव महाराजको योग जागरण अभियानमा संलग्न रहँदै पतंजली योग समिति नेपाल कर्णाली प्रदेश संयोजक हुन् । सुदूरपश्चिमको अछाम, कमलबजार नगरपालिका–१, मा पिता गोपिराम जैसी र माता मनादेवी जैसीको कोखबाट २०२५ साल बैशाख २० गते जन्मिएका जैसीले यसअघि त्रिभुवन विश्वविद्यालयबाट एमएड (स्नातकोत्तर) शिक्षा पुरा गरेका छन् ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, रानका स्थायी बासिन्दा शिवराज जैसी २०५७ सालदेखि योग तथा मेडिटेशन अभियानसँग जुडेका व्यक्ति हुन् । जैसीको जन्मथलो अछाम भएपनि सुर्खेतको चौकुने गाउँपालिकाको सदरमुकाम गुटुबाट प्रारम्भिक शिक्षा पुरा गरि शिक्षक पेशाबाट सेवानिवृत्त भएका व्यक्ति हुन् ।

Translate »