शिक्षक नेता शाही सांसदको उम्मेदवार सिफारिस


स्काई न्यूज /भदौं २२, सुर्खेत । नेपाली काँग्रेसले शिक्षक नेता तिर्थजंग शाहीलाई प्रदेश सभा सदस्यको उम्मेदवारमा सिफारिस गरेको छ । शाही सु्र्खेत क्षेत्र नम्वर २, प्रदेश सभा (क) बाट प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएका हुन् । नेपाल शिक्षक संघका केन्द्रीय कार्यवाहक अध्यक्ष शाहीलाई काँग्रेसले प्रतिनिधि सभा क्षेत्र नं २ बाट समानुपातिक सांसदका लागि पनि सिफारिस गरेको छ ।

काँग्रेसले आगामी मङ्सिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने क्रममा शिक्षक नेता शाहीको नाम सिफारिस गरेको हो । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि शिक्षक नेता शाहीलाई नेपाली कांग्रेस सुर्खेतले प्रतिनिधि सभातर्फ समानुपातिक र प्रदेश सभातर्फ प्रत्यक्षमा सिफारिस गरेपछि जिल्लाका शिक्षकहरुमा खुशीयाली छाएको छ ।
भातृ तथा शुभेच्छुक संघ संगठन निर्माणमा लामो समयदेखि योगदान पु¥याउँदै आएका उनी सांसदको उम्मेदवारमा सिफारिस भएपछि मतदातामा उत्साह बढेको नेपाली काँग्रेस सुर्खेतका एक नेताले बताए । उनी दैलेख जिल्ला नेपाली काँग्रेस बाट २०१५ सालमा निर्वाचित सांसद स्वर्गीय भक्तबहादुर शाहीका नाति समेत हुन् । शाही लामो समयदेखि शिक्षण पेशासँगै शिक्षकहरुका हक, हित र अधिकारका लागि सक्रिय छन् । उनी सुर्खेतको वीरेन्द्रनगर–१०, का स्थायी बासिन्दा हुन् । कर्णाली प्रदेशमा सबैभन्दा बढी मतदाता रहेको सुर्खेतमा कांग्रेसले संघ र प्रदेशमा गरी प्रत्यक्ष तथा समानुपातिकमा शाहीसहित १ सय २० जना उम्मेदवारको नाम सिफारिस गरेको बताईएको छ । सुर्खेतमा प्रतिनिधिसभामा दुई र प्रदेशसभातर्फ चार सिट रहेका छन् ।

