म्यादी प्रहरीमा भर्ना खुल्यो

भदौ ३० देखि दरखास्त दिन सकिने

भदौ २६, काठमाडौं । नेपाल प्रहरीले आगामी मंसिरमा हुने संघ र प्रदेश निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरी भर्नाका लागि दरखास्त आव्हान गरेको छ । नेपाल प्रहरीले आइतबार एक सूचना जारी गरी आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदशेसभा सदस्य निर्वाचनका लागि स्वीकृत म्यादी प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड, २०७९ अनुसार भर्ना खुलाएको हो । प्रहरीले योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त दिन अव्हाान गर्न भनेको छ ।

सरकारले यसपटकको निर्वाचनमा एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न प्रहरीलाई स्वीकृति प्रदान गरिसकेको छ । नेपाली नागरिकले म्यादी प्रहरीका लागि मंसिर ३० गतेदेखि असोज ६ गतेसम्म जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त दिन सक्नेछन् । दरखास्त दिनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका हुनु पर्नेछ ।

भर्नाका लागि नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएका, राजनीतिक दलको सदस्य नभएका, शारीरिक र मानसिक रूपले स्वस्थ, आतंकारी संगठनका सदस्य नरहेका, आँखा माइनस २ र प्लस २ भन्दी बढी कमजोर नभएका, गर्भवती नभएका तथा पुरुषको हकमा उचाइ घटीमा ५ फिट २ इञ्च र छाति ३१–३३ इञ्च, तौल ५० केजी र महिलाको हकमा उचाइ कम्तीमा ५ फिट र तौल ४२ केजी भएको हुनुपर्ने सूचनामा जनाइएको छ ।

प्रहरीका अनुसार आगामी असोज ९ गतेदेखि छनोट प्रारम्भ हुनेछ । यसअघि म्यादी प्रहरीमा छनोट भई सन्तोषजनक काम गरेका, पूर्वसुरक्षाकर्मी तथा पूर्ववनरक्षक, सुरक्षाकर्मीमा भर्नाका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका, मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएकालाई प्राथमिकतामा दिइने प्रहरीले जनाएको छ ।

Translate »