जीर्ण बन्दै सल्यानका सडकहरू, जोखिमपूर्ण यात्रा गर्दै यात्रु

भदौ २८, सल्यान । सल्यानका सडकहरू दिनप्रति दिन जीर्रण बन्दै गएका छन् । तुलसीपुरदेखि रुकुमसम्मको राप्ती राजमार्ग पुरै जीर्ण छ । अधिकांश सडकमा भएको ओटासिल उक्किएको छ । सडकमा ठूला ठूला खाल्डा परेका छन् । मुख्य सडकसँगै प्रदेश राजधानी जोड्ने र सदरमुकाम जोड्ने सडकको अवस्था पनि दयनीय बन्दै गएको छ । सडकको अवस्था जीर्ण बन्दै गएपछि सडक दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ ।

पहाडी भू–भाग र साँघुरो सडक सास्ती भोग्दै आएका स्थानीयले भएको सडक पनि जीर्ण बन्दै जाँदा थप सास्ती भोग्दै आइरहेका छन् । कच्ची सडक र आजभोलि वर्षातका कारण ठाउँ ठाउँमा पहिरो जाँदा गाडीमा हिँडडुल गर्न डर लाग्ने गरेको स्थानीय देविलाल वलीले बताए । सडकको स्तरोन्नति र सरकारी निकायले समयमै मर्मत सम्भार नगर्दा दिन प्रतिदिन सडक बिग्रिँदै गएको उनको भनाई छ ।

जिल्ला भित्र पर्ने सडकहरूको निर्माण, मर्मत सम्भार असोज १ गतेदेखि नै थालनी गर्न सडक डिभिजन कार्यालय दाङ, पूर्वाधार कार्यालय सल्यान र निर्माण व्यवसायीहरूलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए ।

चाडपर्व नजिकै आएकाले सडकहरूको निर्माण, मर्मत तथा स्तरोन्नतिको काम छिटो छरिता र गुणस्तरीय गरी यातायात सञ्चालनमा सहजता ल्याउन आग्रह गरिएको उनको भनाई छ । अधिकांश सडकहरूको काम अलपत्र अवस्थामा रहेकाले निर्माण व्यवसायीहरूले कामको जिम्मा लगि सकेपछि समयमै सम्पन्न गर्नु पर्ने बताए ।

सडक मर्मतका लागि मात्र राप्ति राजमार्गमा बर्सेनि ५० करोड खर्च भइरहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । यस वर्ष पनि मर्मतको लागि ४० करोड बजेट विनियोजन गरिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताए ।

ठेकेदारले काममा ढिलाइ गर्दा सडकहरू भने जस्तो सुधार हुन नसकेको जैसवालको भनाई छ । कार्यालयले जति ताकेता गर्दा र कारबाहीको प्रक्रिया अगाडी बढाउँदा पनि ठेकेदारहरूले काम नगरेको उनले दाबी गरे । अव कार्यालयले तत्काल दसैँ अगाडी सडकका खाल्डाखुल्डी पुर्ने र पहिरो पन्छाउने काम गर्ने उनले बताए । अन्य ठेक्का प्रक्रिया लागिसेको ठाउँहरूको पनि मौसम खुलेपछि तत्काल काम सुरु गर्ने सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

निर्माण व्यवसायीहरूले भने निर्माण सामाग्री महँगो भएका कारण र वर्षातका कारण सडकको काम गर्न नसकिएको जिकिर गरेका छन् । (रेडियो नेपाल)

Translate »