२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

रैथाने बालीको संरक्षण गरिँदै



भदौ २८, सुर्खेत । कुनै बेला खाद्यान्नमा आत्मनिर्भर कर्णाली प्रदेशमा पछिल्ला वर्षमा भने खाद्यान्न अभाव हुने गरेको छ । पुरानो बालीको खेती गर्न छोड्नुले यहाँ खाद्यान्न अभाव भएको हो । फापर, जौ, आलु, चिनो, उवा, कागुनो, कोदो, मकै, कालो र रातो मार्सी धान तथा सिमी उत्पादन प्रदेशमा राम्रो हुने गथ्र्यो तर पछिल्लो समय यी बालीको खेती गर्न छोड्न थालिएको छ । त्यसले गर्दा प्रदेशमा खाद्यान्न अभाव झेल्नुपर्ने अवस्था सृजना भएको हो ।

प्रदेशमा खाद्यान्न अभाव हुन नदिन प्रदेश सरकारले पुराना बालीको संरक्षण गर्ने गरी विभिन्न कार्यक्रम ल्याएर कार्यान्वयनमा लिएको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले रैथाने बाली संरक्षण र उत्पादन बढाउन बालीको सामुदायिक बीउ बैंक स्थापना गर्ने काम भइरहेको बताएको छ ।

मन्त्रालयअन्तर्गत प्रदेश कृषि निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले भने, ‘कर्णाली प्रदेशमा उत्पादन हुने फापर, जौ, आलु, चिनो, उवा, कागुनो, कोदो, मकै, मार्सी धानको बीउ बैंक नै स्थापना गरिरहेका छौं, पुराना बालीको संरक्षण र उत्पादनमा वृद्धि हुने हाम्रो अपेक्षा छ ।’ उत्पादित रैथाने बालीको लेबलिङ, प्याकिङ र ब्रान्डिङ गर्दै कर्णालीका बालीलाई चिनाउने काम गर्ने योजना रहेको उनको भनाइ छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम र बजेटमा समेत रैथाने बालीको संरक्षण एवं उत्पादनलाई जोड दिएको छ । रैथाने बाली संरक्षण गर्ने योजना स्थानीय र प्रदेश सरकारको समन्वय अभावका कारण कार्यान्वयनमा भने केही समस्या देखिएको निमित्त निर्देशक रोकायले जानकारी दिए । प्रदेश सरकारले ल्याउने कार्यक्रम एकातिर र स्थानीय सरकारले ल्याउने कार्यक्रम एकातिर हुँदा कार्यान्वयनमा केही समस्या देखिएको उनले बताए । ‘माथिल्ला तहका सरकारले ल्याएका कार्यक्रम कार्यान्वयन हुने भनेकै स्थानीय सरकारमा गएर हो, प्रदेश र स्थानीय सरकारको समन्वय अभावका कारण हामीले ल्याएका कार्यक्रममा केही समस्या रहेको देखिन्छ,’ रोकायले भने । रासस

प्रकाशित मिति : २०७९ भदौ २८ गते मंगलबार
Translate »