अन्तर जिल्ला सुरक्षा समन्वय बैठक : निर्वाचन लक्षित सुरक्षा रणनीति बनाउन जुटे सुर्खेत–बर्दियाका प्रजिअ

स्काई न्यूज /भदौं २८, सुर्खेत । सरकारले मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेसँगै सुर्खेत आसपासका जिल्लाहरुमा सुरक्षा रणनीति बनाउन थालिएको छ । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लक्षित संयुक्त सुरक्षा रणनीति बनाउनका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतको आयोजनामा मंगलबार बबईमा सु्र्खेत–बर्दिया अन्तर जिल्ला सुरक्षा समन्वय बैठक गरिएको हो ।

कार्यक्रममा सुर्खेत–बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका जिल्ला स्थित प्रमुखहरुको उस्थिति रहेको थियो । वर्तमान सुरक्षा अवस्थाको समिक्षासँगै आगामी रणनीति, नजिकिँदै गरेका चाडपर्वसँगै निर्वाचन लक्षित सुरक्षा रणनीति, फरार अपराधी पक्राउ अभियान, अन्तरसीमा नाकाहरुबाट लागु औषध ओसारपसार नियन्त्रण, राजनीतिक आवरणमा हुने अपराधिक गतिविधि रोक्ने, राजमार्ग सुरक्षा बढाउने, सीमा अपराध, भन्सार चोरी निकासी नियन्त्रण, सडक तथा राजमार्ग सुरक्षा, वन तथा वन्यजन्तु ओसारपसार नियन्त्रण, सवारी साधन चेकजाँच, भाडादर, सवारी व्यवस्थापन, अन्तर जिल्ला विकास आयोजनाहरुको अनुगमन, समन्वयलगायतका विविध विषयहरुमा सहभागिहरु वीच अन्तरक्रियात्मक छलफल भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उनले बैठकमा सीमा सुरक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउने, अन्तर जिल्ला सुरक्षालाई प्रभावकारी बनाई समन्वयात्मक ढंगले अगाडी बढ्ने र सीमा क्षेत्रहरुमा हुने गैरकानूनी क्रियाकलापहरुलाई दुबै जिल्लाको आपसी समन्वयमा प्रभावकारी रुपमा नियन्त्रण गर्ने निर्णय गरिएको बताए । कार्यक्रममा सुर्खेतका प्रजिअ रिजाल, बर्दियाका प्रजिअ बन्धुप्रसाद बास्तोला, नयाँ सवुज गण सुर्खेतका प्रमुख सेनानी रुपक थापा, सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्ट, नम्वर ३२ सशस्त्र प्रहरी बल रक्तकालि गणका गणपति विमल डाँगीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

Translate »