भेरीगंगामा बाघको आक्रमणबाट मृत्यु भएका परिवारका आफ्न्तलाई १० लाख क्षतिपूर्ति

स्काई न्यूज /भदौं २८, सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जले सुर्खेतको भेरिगंगा नगरपालिका–५, गेरवानीमा बाघको आक्रमणबाट मृत्यु भएका आफ्न्तका परिवारलाई क्षतिपूर्ति दिएको छ । निकुञ्जले भेरीगंगा नगरपालिकाको बबईमा मंगलबार सर्वपक्षिय बैठक मार्फत बाघ आक्रमणबाट मृत्यु भएका रामबहादुर चन्द र कबि वलीका आफन्तलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ रुपैयाँका दरले बैंक खाता मार्फत क्षतिपूर्ति दिएको हो ।

भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकाल, बाँसगढी नगरपालिका बर्दियाका नगर प्रमुख खड्कबहादुर खड्का, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अधिकृत विष्णुप्रसाद श्रेष्ठलगायतले मृत्तकका परिवारका आफन्तलाई क्षतिपूर्ति वापतको बैंकमा जम्मा गरिएको भौचर प्रदान गरेका हुन् । छलफल कार्यक्रममा मृत्तकका परिवारलाई थप सेवा सुविधा दिनेबारेमा भेरीगंगा नगरपालिका र बाँसगढी नगरपालिकाका जनप्रतिनिधिसँगै निकुञ्ज प्रशासनले नीति प्रक्रिया अघि बढाईएको बताएका छन् ।

मृत्तकका बालबालिकाको पठनपाठनमा सहयोगसँगै तत्काल जिविको पार्जनका लागि सानोतिनो रोजगारी उपलब्ध गराउने बारेमा समेत छलफल गरिएको भेरीगंगा नगरपालिकाका नगर प्रमुख ढकालले जनाए । सुर्खेतको भेरिगंगा नगरपालिका–५, गेरवानी स्थित बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका राम बहादुर चन्द र कबि वली बाघको आक्रमणबाट साउन २९ गते मृत्यु भएको थियो ।

त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले मान्छे खाने पाटेबाघ (वगिनी) लाई सल्यानबाट नियन्त्रणमा लिएको थियो । गेरवानीमा दुई जनाको मृत्यु भएपछि स्थानीयले क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध गरेपछि निकुञ्ज प्रशासन, स्थानीय प्रशासन तथा जनप्रतिनिधिको रोहवरमा क्षतिपूर्ति दिने सहमतिपछि सडक सुचारु भएको थियो । सोही सम्झौंता अनुसार मानविय सम्वेदनशीलतालाई ध्यान दिँदै निकुञ्ज प्रशासनले तोकिएकै समयभित्र क्षतिपूर्ति प्रदान गरेको हो ।

 

Translate »