कालिकोटमा सात हजार दुई सय मेट्रिक टन स्याउ उत्पादन

भदौ २९, कालिकोट । यस वर्ष कालिकोटमा मनग्य स्याउ उत्पादन भएन । चालु आर्थिक वर्षमा कालिकोटको एक हजार तीन सय हेक्टर क्षेत्रफल ओगटेको स्याउको बगैँचामध्ये अहिले नौ सय हेक्टर क्षेत्रफलमा मात्रै स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ । नौ सय हेक्टर क्षेत्रफलमा सात हजार दुई सय मेट्रिक टन स्याउ उत्पादन भएको कार्यालयले जनाएको छ ।

जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका, रास्कोट नगरपालिकामा स्याउ उत्पादन हुने गरेको छ । किसानले भदौ पहिलो साता नै बिक्री सुरु गरेको जिल्लाको तिलागुफा नगरपालिका–१० का अगुवा किसान कृष्णबहादुर शाहीले बताए । ‘यहाँका अधिकांश किसानको स्याउको बगैँचा छ ।’ उनले भने, ‘स्याउ सिजनमा प्रत्येक परिवारको रु ४० हजारदेखि रु ५० हजारसम्म आम्दानी हुन्छ ।’
७० प्रतिशत कृषि विकास कार्यालयको अनुदान र ३० प्रतिशत किसानको लगानीमा स्याउका बिरुवा वितरण गर्ने गरिरहेको कृषि विकास कार्यालय कालीकोटका प्रमुख बालाराम देवकोटाले बताए।

स्याउ किसानले अहिले बगैँचामै प्रतिकेजी रु ६० देखि रु ७० प्रतिकिलो बिक्री गर्ने गरेको तिलागुफा नगरपालिका–४ का स्याउ किसान बेगम शाहीले जनाए। ‘गत साल बराबर अहिले स्याउ फलेन ।’उनले ने, ‘सोचेअनुसार नफले पनि घाटामा कुनै किसान पनि गएको छैन ।’
रासस

Translate »