सुर्खेत आँखा अस्पताल सञ्चालक समितिलाई काम गर्ने बाटो खुल्यो

पदाधिकारी फेरवदल उपर परेको रिटमा अन्तरिम आदेश भएन

स्काई न्यूज भदौं २९, सुर्खेत । नेपाल रेडक्रस सोसाईटीले सुर्खेत आँखा अस्पताल सञ्चालन समितिको पदाधिकारी नियम विपरित चयन गरिएको कार्यलाई बदर गर्न परेको रिट उपर उच्च अदालत सुर्खेतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले सुर्खेत आँखा अस्पतालको सभापति र कोषाध्यक्ष पदमा निमावली वमोजिम पदपूर्ति गर्ने निर्णय अबैधानिक नहुँदा तथा कानूनी हक हनन भएको स्थिती नदेखिँदा रिट निवेदकहरुलाई कुनै अपूरणिय क्षति नहुने र आँखा अस्पतालको सेवा प्रवाहमा समेत कुनै असर नपर्ने भएकाले रिट उपर अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो ।

रिट दायरकर्ता आँखा अस्पतालका निवर्तमान सभापति डाक्टर दीपबहादुर रावल र कोषाध्यक्ष टिकाराम आचार्यको तर्फबाट अधिवक्ता वीरेन्द्रकुमार थापा र विपक्षीका तर्फबाट नेपाल रेडक्रस सोसाइटीका प्रमुख कानूनी सल्लाहकार अधिवक्ता मोहनप्रकाश पोखरेल, आँखा अस्पताल सुर्खेतका तर्फबाट अधिवक्ता दुर्गाप्रसाद सापकोटाले बहस गरेका थिए । अदातलले उक्त वहस सुनेपछि रेडक्रस सोसाइटी केन्द्रीय समितिको २०७९/०३/ १६ गतेको ३१४ औं बैठकले आँखा अस्पताल सञ्चालन निमावली, २०७५ पहिलो संसोधन २०७७ को नियम ४.२ (घ) अनुसार सुर्खेत आँखा अस्पतालको सभापतिमा रामलाल आचार्य र कोषाध्यक्ष कुमारबहादुर ढकालको मनोनयनलाई सदर गरेको छ ।

उक्त रिटमा नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालय काठमाडौं, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल, नेरेसो शाखा सुर्खेत, सुर्खेत आँखा अस्पताल, रामलाल आचार्य, कुमारबहादुर ढकाल र डाक्टर मनिष खतिवडालाई विपक्षी बनाएको थियो । रेडक्रसको विद्यान र निमावली वमोजिम गरेको कामलाई बदर गरि पाउँ भनि दिएको रिट उपर अन्तरिम आदेश जारी नभएपछि सुर्खेत आँखा अस्पतालका नवनियुक्त सभापति रामलाल आचार्यले अदालतको फैसलाको स्वागत गरेका छन् । उनले अदालतको फैसलपछि आफुलाई रेडक्रसले दिएको जिम्मेवारी अब निर्धक्क भएर काम गर्ने बाटो खुलेको जनाए । सबैको सहयोग तथा समन्वयमा आँखा अस्पतालको सेवा सुविधालाई थप स्तरोन्नती गरि अघि बढ्ने आफ्नो योजना रहेको उनको भनाइ थियो ।

Translate »