शिक्षक परीक्षामा माग भन्दा पास थोरै

स्काई न्यूज /भदौं ३१, सुर्खेत ।  शिक्षक सेवा आयोगको सार्वजनिक गरेको माध्यमिक तह तृतीय श्रेणीको नतिजाअनुसार विद्यालय तहमा फेरि पनि शिक्षक अभाव हुने देखिएको छ । आयोगले गत असार ९ गते लिएको विषयगत परीक्षामा चाहिए जति परीक्षार्थी उत्तीर्ण हुन नसकेपछि विषय शिक्षक पाउन सकस हुने देखिएको हो । आयोगको तथ्यांक अनुसार आवेदन दिने पर्याप्त भए पनि उत्तीर्ण हुने संख्या ज्यादै न्यून छ ।

आयोगले २०७८ माघमा देशैभरका लागि माध्यमिक तहमा एक हजार ५ सय ४२ रिक्त शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको थियो । २०७८ चैत १५ गते सञ्चालित सामान्यतर्फको परीक्षामा ३२ हजार ९७ जना सहभागी भएकोमा ३ हजार ८ सय ८६ मात्र उत्तीर्ण भए । सामान्यतर्फको परीक्षामा उत्तीर्ण भएका उम्मेद्वारहरुको गत असार ९ गते विषयगत परीक्षा भयो । तर, आयोगले माग गरे अनुरुप अधिकांश विषयमा शिक्षक छनोट हुन सकेनन् ।

आयोगले नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, कार्यालय सञ्चालन तथा लेखा, शिक्षा, स्वास्थ्य, शुक्ल यजुर्वेद, कम्प्युटर विज्ञान र न्याय विषयको नतिजा हेर्दा अधिकांश विषयमा माग गरिएभन्दा निकै कम उम्मेद्वार अन्तर्वार्ताको लागि छनोट भएको जनाएको छ । आयोगका अनुसार सबैभन्दा बढी गणित विषय शिक्षकको अभाव हुने देखिएको हो । कर्णालीमा २९ पदको लागि २८४ आवेदन परेकोमा ८ जना उत्तीर्ण बाँकी २१ पद खाली हुने भएको छ ।

त्यस्तैगरी विज्ञान विषयको पनि माग अनुसार शिक्षक उत्तीर्ण भएनन् । कर्णालीमा ३४ दरबन्दीका लागि १ सय ५२ आवेदकमध्ये २८ जनाले मात्र लिखित परीक्षा पास गरेका छन् । नेपाली विषय शिक्षकमा कर्णाली प्रदेशमा ९ दरबन्दीको लागि ३ सय ६८ आवेदन परेकोमा ७ जना मात्र उत्तीर्ण भएको आयोगले जनाएको छ ।

Translate »