बाढीपहिरोको वितण्डा : पश्चिम सुर्खेतमा करोडौंकोे क्षती

दैलेख सुर्खेत खण्ड अवरुद्ध

स्काई न्यूज / असोज २, सुर्खेत । मनसुन सकिनै लाग्दा तीन दिनदेखि अविरल परेको वर्षा पश्चिम सर्खेतमा वितण्डा मच्चाएको छ । शुक्रबारदेखि लगातार परेको बर्षाबाट बाढीपहिरोले पश्चिम सुर्खेतका चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहतालमा करोडौंको क्षती पु¥याएको हो । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले निरन्तर परेको वर्षापछि आएको बाढीपहिरोबाट पश्चिम सुर्खेतमा पशुचौपायासँगै करोडौंको धनजनको क्षति भई कतिपय मानिसहरु बेघर भएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले विभिन्न संघसंस्थासँगै स्थानीय तहको सहयोगमा आवश्यक उद्दार तथा राहत कार्य शुरु गरेको छ । अझैपनि वर्षा हुन नसक्ने सम्भावना कायमै रहेकाले जोखिममा रहेका सबै नागरिकलाई सतर्क रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी पदम लामिछानेले बताए । उनले धेरै ठाउँका बस्तीमा बाढी पसेकाले क्षती पु¥याएको जनाए ।

चौकुने गाउँपालिका–८ भाम्लेमा बाढीले ६ वटा घरहरुमा क्षती पु¥याएको छ भने एउटा भैसीं पुरिएको छ । चौकुने–९, रागमा विद्यापुर खोलाबाट आएको बाढी बस्तीमा पस्दा १० वटा घर डुबानमा परेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए । चौकुने–४, मा २ वटा घर उच्च जोखिममा रहेका छन् । ३ नम्बर वडाको गोभ्रा, शोभान चौरमा पहिरोबाट ७ वटा घर उच्च जोखिममा परेका छन् भने बेतान खोलाबाट आएको बाढीले ३ सय रोपनी खेत बगरमा परिणत गरेको छ ।


यस्तै, चौकुने १० घाटगाउँमा आएको बाढीले पूर्व चौकुनेका अध्यक्ष धीरबहादुर शाही, डिलबहादुर बिसी लगायतका केही घरहरु उच्च जोखिममा रहेका छन् । बाढीबाट हालसम्म मानविय क्षती नभएपछि अन्य क्षति व्यापक भएको छ । उनले बाढीबाट प्रभावित स्थानीयलाई उद्दार गरेर सुरक्षित स्थानमा सार्ने र पाल तथा खाद्यान्नको व्यावस्थापन गरिरहेको जनाए । पीडितलाई थप आवश्यकता अनुसारको राहत वितरण गर्ने तयारी रहेको उनको भनाइ छ । बाढी र पहिरोका कारण चौकुने, पञ्चपुरी, बराहताल गाउँपालिका भित्रका सबै ठाउँमा सडक अवरुद्ध भएको छ । चौकुनेको रागमा बाढी बस्तीमा पसेपछि एक जना वेपत्ता रहेको बताईएको छ । खवर पाउने वित्तिकै सशस्त्र प्रहरी वेश क्यापम गुटुबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा नेपाल प्रहरीसहित १० जनाको टोली रागतर्फ पठाइएको सशस्त्र प्रहरी बल रक्तकालि गणका गणपति (एसपी) विमल डाँगीले बताए ।

पञ्चपुरी नगरपालिका–७,जंगलाका झक्कड बहादुर बयक क्षेत्री, भिमबहादुर बुढा, प्रेम बयक, बिरबहादुर बुढाको २१ रोपनीमा लगाएको धानबाली नष्ट भएको छ भने १ हजार कागती र सुन्तलाका बिरुवा बगाएको छ । त्यसैगरी वडा नं ९ को रागमा पनि बाढीले करोडौको क्षति पु¥याएको छ । यस्तै कृष्णप्रसाद कडेल र कर्णबहादुर चुहानको पहिरोले घर पुगेको छ भने १ भैसी, १ राँगा, २ गोरु, २ बाख्रा, २ बङ्गुुुुर र २ खसी मरेका छन । त्यस्तै बाढीले खराल टोलका १४ घरमा क्षति पु¥याएको छ । वडा नं ९ कै थाकलघारी, पैराताल, जमुनाघारी, खुर्सानीबारी लगायतका ठाउँमा बाढीले क्षति पु¥याएको छ भने खानेपानीको पाइप लाइन समेत बगाएको वडाध्यक्ष पूर्णप्रसाद घिमिरेले जानकारी दिए । बाढीले पञ्चपुरी १० को राजी बस्ती, बागबजार, गल्फाका बिभिन्न ठाउमा क्षती पु¥याएको छ । यता, पञ्चपुरी नगरपालिका–१०, मा रहेको नगेन्द्र शाहीको फर्ममा बाढी बस्दा कुखुरा बगाएको नगर प्रमुख लालवीर भण्डारीले जानकारी दिए ।
बराहताल–५, को चेपाङ्गमा बाढीले १२ घरमा पूर्णरुपमा क्षति पुगेको छ भने २९ घरमा आंशिक क्षति पुगेको बताईएको छ । त्यस्तै स्थानीय किसानले ७ बिघामा लगाएको मकै तथा धानबाली बगाएको र ४० बाख्रा, ४ गोरु र १ गाई मरेको बराहतालका सूचना प्रबिधि अधिकृत गोबिन्द सिजापतीले जनाए ।
दैलेख सुर्खेत खण्ड अवरुद्ध
अविरल वर्षाका कारण कर्णाली राजमार्गसहित दैलेख–सुर्खेत सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिका–५ मौलाकाटिया, दैलेखको दुल्लुनगरपालिका–३ बोटखाला, चामुण्डाविन्द्रासैनी नगरपालिका–७ रामघाट र बराहताल गाउँपालिका–७ कल्यानमा पहिरो गएको हो । स्थानीय प्रशासनले राजमार्ग खुलाउन लागिरहेको जनाएको छ । सुर्खेत–दैलेख सडक खण्ड अन्तरगत गुराँस गाउँपालिका–६ स्थित जिरो प्वाइन्ट र केराबारीमा ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको हो । जेसीवी ल्याएर पहिरो हटाउने प्रयास भएपनि अविरल वर्षाका कारण हटाउने काम प्रभावित बनेको बताईएको छ । ठाउँ ठाउँमा पहिरो जाँदा यात्रुहरुले सास्ती खेप्नुपरेको छ ।

Translate »