परिवार योजना : चेतना बढ्यो तर प्रयोग दर बढेन


स्काई न्यूज /असोज २, सुर्खेत । कर्णालीमा परिवार नियोजनको आधुनिक साधन प्रयोगदर ४७ प्रतिशत र पहुँच ५३ प्रशितमाथि उक्लिन सकेको छैन । तर, परिवार नियोजनको साधन प्रयोग गर्नुपर्छ भन्ने ज्ञान भने ९० प्रतिशत भन्दामाथि रहेको जनाइएको छ । परम्परागत विधिको प्रयोग ९ दशमलव ८ प्रतिशत, कूल प्रजननदर २ प्रतिशत र अपरिपूर्त माग २४ प्रतिशतमा रहेको तथ्यांकमा उल्लेख छ । सरकारले स्वास्थ्य क्षेत्रमा धेरै स्थानमा काम गरिरहेको र आवश्यक बजेट पनि प्रदान गरिरहेको सामाजिक विकास विकास मन्त्रालयको दावी छ । तर, यो बजेट पर्याप्त नरहेको मन्त्रालयका कम्युनिटी नर्सिङ अधिकृत कविता खत्रीले बताईन् । उनका अनुसार सर्शत बजेटतर्फ आर्थिक वर्ष २०७८/०८९ मा १९ लाख हजार ८० रहेकोमा चालु आर्थिक वर्ष २०७९/०८० का लागि घटेर १७ लाख ५० हजार रुपैयाँ छुट्टाईएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १३ दशमलव १४ प्रतिशतले कमी हो ।

नेपालमा करिब ६ दशकअघिदेखि नेपालमा व्यवस्थितरुपमा कार्यान्वयनमा आएको परिवार योजना कार्यक्रमले सुधार आउन नसक्नुका प्रमुख सूचकहरुमा वर्षौंदेखि स्थिर रहेकाले प्रभावकारी काम गर्न आवश्यक रहेको सरोकारवालाले औल्याएका छन् । परिवार योजनका साधन प्रयोग गर्ने विवाहिता महिलामध्ये धेरैले इम्प्लान्ट, आयुसीडी रोज्ने गरेको बताईएको छ । महिलाका लागि नजिकका स्वास्थ्य संस्था सेवा लिने स्थान भएपनि हिमाल १५, तराई र पहाडका २२ प्रतिशत स्वास्थ्य संस्थाले सो सेवा दिन नसकेको पनि बताईएको छ ।
यसैवीच परिवार योजन विकासको लागि उत्कृष्ट लगानी भएको सुर्खेतका सरोकारवालाले वताएका छन् । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले आइतबार वीरेन्द्रनगरमा नवौं राष्ट्रिय परिवार योजन दिवसको अवसर पारेर आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले परिवार योजनाको पहुँच सबै सेवाग्राहीसमक्ष पुराउन पर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा स्वास्थ्यका लागि समक्ष प्रणाली परियोजनाका डाक्टर सोनाइ चौधरी गिरीले परिवार नियोजनमा गरिएको लगानीले मातृमृत्यु तथा नवजात शिशुको मृत्युमा उल्लेख्य कमी आउने बताईन् । उनले परिवार नियोजनका साधन प्रयोग गर्ने संख्या भन्दा पनि वीचमै यसको प्रयोग रोक्ने समूहलाई परामर्श गरेर यसको प्रयोग निरन्तरतामा जोड दिनुपर्ने औल्याई । ‘परिवार नियोजन सम्बन्धी भ्रामक कुराहरु आउने गरेकाले पनि धेरै जनाले भ्रममा परेर यसको प्रयोग गर्न हिच्किचाईरहेका छन्,’ उनले भनिन्, ‘नेपालमा प्रयोग हुने परिवारका नियोजनका सबै साधनहरु अत्यन्त सुरक्षित रहेकाले यसको प्रयोग गर्न डराउन पर्दैन, यसका लागि सरोकारवालाले समेत सही तथ्यपरक सूचना सबै समक्ष पुराएर परिवार योजना गर्नका लागि मद्दत गर्नुपर्छ ।’


उनले परिवार नियोजनमा १ रुपैयाँ खर्च गर्दा त्यसले देशलाई ३ रुपैयाँ बराबरको फाइदा रिटर्न गर्ने भन्दै सही समयमा परिवार योजना गरेमा मातृ तथा नवजात शिशु मृत्युदरमा उल्लेख्य कमी आउने जिकिर गरिन् । कार्यक्रममा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका कम्युनिटी नर्सिङ अधिकृत कविता खत्रीले परिवार नियोजनका साधन प्रयोग गर्ने भनेको आफनो परिवार मात्र व्यवस्थित गर्ने नभएर समाज र देशकै विकासको लागि सहयोग पुग्ने बताईन् । ‘असुरक्षित यौन सम्पर्ककका कारण अनिच्छित गर्भ रहने सम्भावना धेरै हुन्छ । यस्तो अवस्थामा असुरक्षित गर्भपतन असुरक्षित सुत्केरी हुने सम्भावना बढ्ने र यसबाट मातृ तथा शिशु मृत्यु हुने सम्भावना पनि बढ्छ,’ उनले भनिन्, ‘त्यसैले यस्तो असर नपरोस् भन्नका लागि पहिले नै आफू तयार भएर परिवार नियोजनका साधन प्रयोग गर्न जरुरी हुन्छ ।’

साक्षरभन्दा असाक्षरको रुचि
परिवार नियोजनको आधुनिक साधन प्रयोग गर्नेमा शिक्षितभन्दा अशिक्षित महिला बढी रहेका उजागर सर्वेक्षणले गरेको थियो । कुनै शिक्षा हासिल नगरेका ५२ प्रतिशत महिलाले आधुनिक साधन र सेवा प्रयोग गर्ने तथा माध्यामिक शिक्षा वा सोभन्दा बढी हासिल गरेका ३४ प्रतिशत महिला मात्रै आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन् । विवाहित महिलामा परिवार नियोजनका साधन तथा सेवाको प्रयोगदरमा उल्लेखनीय सुधार आएको देखिँदैन् । सन् १९९६ मा प्रयोगदर २९ प्रतिशत रहेकामा हाल ५३ प्रतिशत मात्र पुगेको छ ।
आधुनिक परिवार नियोजनको साधनको प्रयोगदर घट्दो र परम्परागत विधि अपनाउनेको दर बढ्दो रहेको देखिएको छ । १५ प्रशित विवाहित महिला कम्तीमा दुई वर्षको अन्तरालमा बच्चा जन्माउन चाहन्छन् । यस्तै ६१ प्रतिशत महिला दुई बच्चा जन्माइसकेपछि अर्काे बच्चा जन्माउन चाहँदैनन् । अर्काे बच्चा जन्माउन नचाहने महिलाका लागि परिवार योजनका साधनको माग हुन्छ । यस्तो माग गर्ने महिलाको सङ्ख्या ७६ प्रतिशतभन्दा माथि छ । करीब ७० प्रतिशत महिलामा प्रजनन स्वास्थ्यका लागि परिवार नियोजनका सेवा लिनुपर्छ भन्ने ज्ञान र जानकारी छ, तर सेवाको पहुँच छैन । परिवार नियोजनका आधुनिक साधन, मातृत्व र नवजात शिशु स्याहारमा लगानी बढाउन आवश्यक रहेको छ ।
परिवार नियोजनको आधुनिक साधनको चाहना हुँदाहुँदै पनि हरेक वर्ष अनुमानित पाँच लाख ३९ हजार महिला अनिच्छित गर्भधारण गर्न बाध्य रहेका सोही एक अध्ययनले जनाएको छ । गर्भ निरोधकका साधन उपयोग गर्नेको सङख्या दुई दशमलव नौ प्रतिशतबाट ५३ प्रतिशतमा उक्लिए पनि यसलाई खासै उपलब्धि मानिन्न । पछिल्लो समय नेपालमा आधुनिक गर्भनिरोधका लागि नौ प्रकारका साधन उपयोगमा आएका छन् । नेपालमा करीब ६४ प्रतिशत महिलाले मात्र विश्व स्वास्थ्य सङ्गठनले सिफारिश गरेअनुसारका कम्तीमा चारपटक गर्भ परीक्षण, ६१ प्रतिशतले तालीमप्राप्त स्वास्थ्यकर्मीको सहायताले सुत्केरी हुने गर्दछन् ।


