आजबाट नवरात्र शुरू, घरघरमा घटस्थापना गरेर विजया दशमीको पहिलो दिन मनाईंदै

आजबाट नवरात्री शुरु भएको छ । नेपालीहरुको महान चाड विजया दशमी अर्थात बडा दशैँको आज पहिलो दिन घरघरमा जमरा राखेर घटस्थापना मानईंदै छ । घटस्थापनाको उत्तम साइत भने १० बजेर २३ मिनेटलाई मानिएको छ ।

आश्विन शुक्ल प्रतिपदाबाट शुरु हुने बडा दशैँ १५ दिनसम्म अर्थात कोजाग्रत पूर्णिमासम्म मनाइन्छ । नवरात्र शुरु भएसँगै देशभरका देवी आलयहरुमा दर्शनार्थीको भीड देखिएको छ । काठमाडौंका भगवती मन्दिरमा पनि दर्शनार्थीहरुको भीड छ । यस अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।


दुर्गाको प्रतिकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै नव कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौं दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याउने, महाअष्टमी र महानवमीका दिन बली पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्रको पाठ पारायण पनि गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ ।  दानवी प्रवृत्तिबाट मानिसलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने
शास्त्रोक्त कथन छ ।

दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकको रूपमासमेत मनाउने गरिन्छ ।

Translate »