यात्रु सहायता कक्ष स्थापना
स्काई न्यूज /असोज १०, सुर्खेत । दशै तिहारजस्ता चाडपर्व लक्षित गरेर सुर्खेतका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा घर फर्कने र बाहिर जाने यात्रुहरुलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय सुर्खेतले (आज) सोमबारदेखि यात्रु सहायता कक्ष स्थापना गरिएको हो । जिल्लाका नौ वटै पालिकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।
उनले यात्रु सहायता कक्षमा कार्यरत सुरक्षाकर्मीले दुर्घटना न्यूनीकरणसम्बन्धी सवारी चालकलाई विभिन्न सचेतना गराउनुका साथै गाडीको सिट क्षमताभन्दा बढी यात्रु तथा सामाग्री हाल्न रोक लगाउने बताए । जिल्लामा दशै तिहारको समयमा विगतमा धेरै ठूला दुर्घटना भएकाले दुर्घटना न्यूनीकरण गर्न यात्रु सहायता कक्षमा कार्यरत सुरक्षाकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास छ ।
उनले दशै तिहारको समयमा यात्रुको चाप बढी हुने हुँदा दुर्घटनाको जोखिमलाई न्यूनिकरण गर्दै सुरक्षाकर्मीले सवारी अभावमा अलपत्र परेका यात्रुहरुलाई गाडीको व्यवस्था मिलाई घरसम्म पठाउन सहजीकरण गर्ने बताए । चाडपर्व लक्षित सुरक्षा व्यवस्थालाई सफल बनाउन सम्बन्धित सबै निकाय र सरोकारवालाई समेत उनले आग्रह गरे ।