सरकारी सम्पत्तीको दुरुपयोग : कर्णालीका लालची सांसदले बुझाएनन् सुविधाका गाडी


स्काई न्यूज /असोज ११, सुर्खेत । कर्णाली प्रदेश सभाका अधिकांश पदाधिकारीले गाडीलगायतका सेवा सुविधा फिर्ता गरेका छैनन् । आफूहरुको कार्यकाल प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने वेलासम्म कायम रहने उनीहरुको दाबी छ । यद्यपि ! संघ र प्रदेशका सभामुख–उपसभामुखसँगै आफूहरुको कार्यकाल सकिने जिकिर उनीहरुले गरेका छन् । निर्वाचन आयोगले १ असोजमै कार्यकाल सकिएको बताएलगत्तै केहीले भने सुविधाका गाडी फिर्ता गरेर नैतिकता देखाएका छन् ।
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू भएको घोषणा गरेको छ । तर धेरैजसो कर्णाली प्रदेश सभाका पदाधिकारीले गाडीलगायतका सरकारी सेवा सुविधा अझै फिर्ता गरेका छैनन् । सामान्यतया पदावधी सकिएपछि सरकारी गाडी र निवास नैतिकताको आधारमा फिर्ता गर्नुपर्ने प्रचलन रहेपनि पदावधि सकिएको दश दिन वित्दासम्म उनीहरुले चढने गाडी फिर्ता गरेका छैनन् ।

सत्तापक्ष माओवादीका प्रमुख सचेतक गोपाल शर्मा, सत्तापक्ष कांग्रेस प्रमुख सचेतक अमृता शाही, प्रतिपक्ष एमाले प्रमुख सचेतक गुलावजंग शाहलगायतले हालसम्म गाडी फिर्ता नगरेको प्रदेश सभा सचिवालयले जनाएको छ । तर उनीहरुले हाल आफुहरु कर्णाली बाहिर रहेकाले बुझाउन ढिलाई भईरहेको बताएका छन् । कतिपय सांसदले पुस्तकालयबाट लगेका पुस्तकलगायत सामग्री पनि फिर्ता नगरेको कर्णाली प्रदेश स्टोर शाखाका प्रमुख सुरेन्द्र थापाले बताए ।
यता प्रदेश सभा सचिवालयले पदाधिकारी तथा समितिका अध्यक्षहरुले चढने गाडी खराब अवस्थामा भएको खण्डमा मर्मत गरेर बुझाउनुपर्ने बताईएको छ । ‘उहाँहरुले पदावधी सकिएलगत्तै बुझाएको भए त्यो दायित्व प्रदेश सभाको हुनेथियो ।’ प्रदेश सभाका एक कर्मचारीले भने, ‘अब विग्रेको खण्डमा उहाँहरुले गाडी मर्मत गरेर दिनुपर्ने हुन्छ ।’ प्रदेश सभाका उपसभामुख पुष्पा घर्ती चढने गाडी समेत कोहलपुरमा दुर्घटनामा परेपछि बुझाउन ढिलाई भईरहेको छ । उनले चढने गाडी पनि उनैले मर्मत गरेर बुझाउनु पर्ने ती कर्मचारीको भनाई छ ।

