चुनावी प्रतिबद्धता–पत्र निर्माणका लागि एमालेले माग्यो सुझाव

स्काई न्यूज /असोज १६, सुर्खेत । नेकपा (एमाले) प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नम्बर २ (क), सुर्खेतको कमिटीले चुनावी प्रतिबद्धता–पत्र निर्माणका लागि सुझाव मागेको छ । आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि एमालेले आफ्ना प्रतिबद्धता–पत्रमाथि सरोकारवाला निकाय तथा व्यक्तिहरूसँग शनिवार छलफल गरी सुझाव संकलन गरेको हो ।

प्रतिबद्धता–पत्र मस्यौदा समितिका संयोजक तथा एमाले सुर्खेतका सचिवालय सदस्य गंगाराम तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले गरेका थिए ।
सुझाव संकलनमा पार्टी केन्द्रदेखि स्थानीय कमिटीसम्मका नेता, कार्यकर्ता, जनसंगठन, पेशागत संगठन र विभिन्न क्षेत्रमा क्रियाशील तथा एमालेका सुभेच्छुक विज्ञ व्यक्तिहरूको सहभागिता रहेको थियो । यिनै सुझावलाई समेटेर चुनावी प्रतिबद्धता–पत्रलाई पूर्णता दिइने समितिका संयोजक तिमिल्सेनाले जनाए ।