देउती बज्यै मन्दिरमा बोकाको मुण्टो लिनेको तछाडमछाडले भक्तजनलाई सास्ती


स्काई न्यूज /असोज १७, सुर्खेत । चाडपर्व नजिकिँएसँगै सुर्खेत स्थित प्रसिद्ध देउती बज्यै मन्दिरमा दिनप्रतिदिन भक्तालुको भिड बढ्दो क्रममा रहेको छ । सोमबार देउती बज्यै मन्दिरमा महाअष्टमीका दिन अन्य दिनको तुलनामा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिने भएकाले एका विहानैदेखि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको थियो ।
मन्दिरमा पुग्ने धेरैजसो भक्तजनले आफुले गरेको भाकल पुरा भएपछि मन्दिरमा श्रद्धापूर्वक बली दिने गरेको मन्दिरका मुख्य पुजारी टंक राजी बताउँछन् । उनका अनुसार महाअष्टमीमा करिब तीन सय बोकाको बली चढेको थियो । तर, मन्दिर व्यवस्थापन समितिको चरम लापरवाहीका कारणले सामान्य पूजाआजा गर्नेदेखि बली दिन आएका श्रद्धालुले समेत समस्या भोक्नु परेको वीरेन्द्रनगरका हृदेश सापकोटाले बताए । उनले बली दिएको बोकाको (मुण्टो) टाउको लिनेहरुको लछाडमछाडका कारण अन्य श्रद्धालुलाई समस्या भएको जनाए ।

उनका अनुसार बजारमा ९ सय पर्ने बोकाको टाउको देउती बज्यै मन्दिरमा ४ सय रुपैयाँमै पाईने भएकाले मन्दिर परिसरमा होहल्ला र तछाडमछाड हुने गरेको छ । यता मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुसँग यस बारेमा बुझ्न खोज्दा कसैले उत्तर दिन चाहेनन् । यद्यपि ! मन्दिर परिसरमा सुरक्षाकर्मी परिचालन गरिएपनि न्यून संख्या हुँदा बोकाको मुण्टो लिनेहरुको व्यवस्थापन गर्न हम्मे-हम्मे पर्ने गरेको छ । बोकाको मुण्टो लिनेहरु अधिकांस मन्दिर आसपासकै स्थानीय बासिन्दा रहेकाले व्यवस्थापनमा थप कठिनाई रहेको मन्दिरका पुजारीहरु बताउँछन् ।
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व नेपालीहरुले बडादशैका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाएका छन् । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।


