अझै एकदुई दिन मौसममा सुधार आउँदैन : हिंडडुल गर्दा सावधानी अपनाउन आवश्यक

अझै केहिदिनसम्म मुलुकका  विभिन्न भागमा वर्षा भइरहने सम्भावना रहेको छ ।  हाल नेपालमा दक्षिण- पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ। जसका कारण देशभरि सामान्यदेखि पूर्ण बदली भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै केहिदिनसम्म मौषममा सुधार नहुने बताएको छ ।

एक साता अघिदेखि नै यसपालि दशैंमा मनसुनी वर्षा हुनसक्छ भनेर सचेत गराएको विभागले झरी पार्ने प्रणाली अझै एकदुई दिन कायम रहने बताएको छ । मुलुकका विभिन्न भागमा महानवमीदेखि नै वर्षा भइरहेको छ ।

विभागका अनुसार, पूर्व र मध्य नेपालमा खासै ठूलो पानी नपरेपनि पश्चिम र सुदूरपश्चिम क्षेत्रमा भारी वर्षादेखि अति भारी वर्षाको सम्भावना छ ।

बरिष्ठ मौसमविद् शान्ति कँडेलले केहीबेर घाम लागे पनि अझै एक दुई दिन मौसममा सुधार नहुने बताइन् । उनका अनुसार अहिले  दशैंमा आफन्तकोमा गएर टिका लगाउने समय पनि भएकाले हिंडडुल गर्दा सावधानी अपनाउन आवश्यक छ ।

Translate »