दर्जन बढी घर पहिरोले बगायो, सडक अवरुद्ध


सल्यान । चार दिनदेखि भइरहेको अविरल वर्षाले जिल्लाको शारदा, बागचौर, बनगाड कुपिण्डे नगरपालिका, दार्मा, छत्रेश्वरी, कपुरकोट, त्रिवेणी, कालीमाटीमा दर्जन बढी घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
वर्षा नरोकिएकाले क्षतिको विवरण अझै आउन सक्ने प्रहरीको भनाइ छ । वर्षाकै कारणले विगत तीन दिनदेखि सल्यान अन्धकार बनेको छ भने ग्रामीण सडकहरू पूर्ण रुपमा अवरुद्ध भएका छन् । वर्षाका कारण ठाउँ–ठाउँमा पोल ढल्दा विद्युत आपूर्ति हुन सकेको छैन ।

पहिरोले छिन्चु –चौरजहारी सडक, जिल्लाको खलङ्गा–कालीमाटी, सारपानी–निगालपानी, थारमारे–चौरजहारी, लुहाम–काभ्रा, मोख्ला–दमाचौर, सालचौर–निगालचुला, रामपुर–दम्दवाली, लुहाम–फलाबाङ्ग, झिम्पे लगायतका सडक रातिदेखि नै अवरुद्ध भएका छन् ।


