‘निर्वाचन आचारसंहिता पालना गर्न आग्रह’

स्काई न्यूज /असोज २२, सुर्खेत । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन निष्पक्ष, स्वतन्त्र एवं भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन सम्बन्धी आचारसंहिता पालनामा सबै दलहरुको सहयोग अपरिहार्य रहेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले बताएको छ ।

कर्णाली प्रदेश निर्वाचन कार्यालयले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आचारसंहिता पालनामा राजनीतिक दल तथा उम्मेदवारको भूमिका सम्बन्धी छलफल कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले आचारसंहिता पूर्ण रूपले पालना गराउन राजनीतिक दलहरुको सामूहिक प्रतिबद्धता आवश्यक रहेको औल्याए ।

उनले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि जिल्ला स्तरमा निर्वाचन प्रक्रिया सुरु भइसकेकाले भोलि हुने मनोनयन पत्र दर्ताका लागि दलहरुले समन्वय गरि मनोनयनको समय निर्धारण गरे बजोजिम मनोनयन पत्र दर्ता गर्न सुझाव दिए ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा सुर्खेतमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी राष्ट्रिय अनुसन्धान तथा म्यादी प्रहरीसहित साढे पाँच हजार सुरक्षाकर्मी परिचालन हुने बताए ।

उनले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नु, सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराख्ने भन्दै सबैलाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरे । यता दलहरुले भने आचारसंहिता पूर्ण रुपले कार्यान्वयन गराउन अनुगमन प्रभावकारी बनाईनु पर्नेमा जोड दिएका छन् ।

सुर्खेतमा दुई वटा प्रतिनिधि सभा र ४ वटा प्रदेशसभा सदस्य निर्वाचनका लागि २ लाख ४३ हजार ६ सय १५ मतदाताले मतदान गर्ने कार्यक्रम रहेको छ । जिल्लामा १ सय ३९ मतदान स्थलमा २ सय ९३ मतदान केन्द्र तोकिएको छ ।

Translate »