सुर्खेतमा तोडियो सत्तारुढ गठबन्धन


स्काई न्यूज /असोज २६, सुर्खेत । नेकपा (एकीकृत समाजवादी) सुर्खेतको प्रदेशसभा सदस्य निर्वाचनमा एकलै होमिने भएको छ । गत आइतबार मुख्य निर्वाचन कार्यालय सुर्खेतमा पुगेर दर्ता गरेको २ वटा प्रदेशसभा सदस्यको उम्मेदवारी नेकपा (एस) ले कायमै राखेको छ । सत्तारुढ गठबन्धन दलसँगको सहमतिमा एउटा प्रदेशसभा मागेपनि कुनैपनि पद नपाएपछि नेकपा एसले २ वटा प्रदेशसभा क्षेत्रमा उम्मेदवारी दिएको थियो । सत्तारुढ गठबन्धनबाट धोका भएको भन्दै आफ्नै ढंगबाट प्रदेशसभा सदस्यको उम्मेदवारी दिएको पार्टीका जिल्ला अध्यक्ष मोहनसिंह बडुवाल बताए ।
‘हामीले गठबन्धन दलसँग कम्तीमा एउटा प्रदेशसभा सदस्य माग गरेका थियौं,’ उनले भने, ‘कमजोर सम्झेर हामीलाई लात हानियो ।’ उनका अनुसार हामीलाई छोडेर नेपाली काँग्रेस र माओवादी केन्द्रले दुई दलिय गठबन्धन गरेर अघि बढेका छन् । जिल्लामा गठबन्धन अधकल्चो भएको बताउँदै बडुबालले पार्टीका तर्फबाट प्रदेशसभा क्षेत्रमा उम्मेदवार रहेको र पार्टीका उम्मेदवारका पक्षमा मत मागिने बताए । उनले भने, ‘प्रदेशसभा सदस्यमा आफ्नै पार्टीका उम्मेदवार भएकाले मत पनि पार्टीकै लागि मागिनेछ ।’

पार्टीले सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) र (ख) मा उम्मेदवारी दिएको छ । समाजवादीले २ (ख) पाउनुपर्ने माग राखेकोे थियो । तर गठबन्धनले कुनैपनि क्षेत्र नदिँदा उम्मेदवारी दर्ता गराएको हो । अब सुर्खेत क्षेत्र नम्वर दुईमा गठबन्धन, एमाले र समाजवादीबीच त्रिपक्षीय भिडन्त हुने देखिन्छ । यता गठबन्धनको निर्णय अनुसार भने क्षेत्र नम्वर दुईको (क) मा कांग्रेसका कालीप्रसाद शाक्य र (ख) मा माओवादीका विन्दमान विष्ट उम्मेदवार बनेका छन् ।
समाजवादीले सुर्खेतमा कुनै पनि क्षेत्र आफ्नो भागमा नपरेपछि (क) र (ख) मा उम्मेदवारी दर्ता गराएको होे । जस अनुसार (क) समाजवादीका जिल्ला इञ्चार्ज शिव उपाध्याय र (ख) मा जिल्ला अध्यक्ष मोहन बडुवालले उम्मेदवारी दर्ता गराएका छन् । समाजवादीका जिल्ला अध्यक्ष बडुवालले पार्टीको केन्द्रीय निर्णय अनुसार नै दुबै जनाको उम्मेदवारी कायम रहेको प्रतिक्रिया दिएका छन् ।

