तोकियो खानेपानीको मूल्य
स्काई न्यूज /असोज २६,काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक बोतल तथा जारमा बिक्री हुने प्रशोधित पानीको अधिकतम खुुद्रा मूल्य तोकेको छ । संघीय संसद् प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुुगमन उपसमितिको अध्ययन प्रतिवेदनसमेतका आधारमा विभागले बोतल र जारको पानीको खुद्रा मूल्य तोकेको गरेको हो ।
विभागका अनुसार काठमाडौं उपत्यकामा बोतल प्रतिलिटर पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ४७ रुपैयाँ निर्धारण गरेको छ । काठमाडौं बाहिर जिल्लामा भने एक लिटर बोतलको पानीको अधिकतम खुद्रा २० रुपैयाँ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ६० रुपैयाँ निर्धारण गरिएको विभागले जनाएको छ ।
विभागका निर्देशक होमनाथ भट्टराईले यसअघि संघीय संसद् प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुुगमन उपसमितिको अध्ययन प्रतिवेदनका आधारमा मूल्य तय गरिएको जानकारी दिए । विभागले निर्धारण गरेको मूल्यभन्दा बढी लिएको पाइएमा कानुनअनुसार कारबाही गरिने पनि उनले जानकारी दिए ।
विभागका अनुसार निर्धारण गरेको प्रशोधित पानीको बोतल वा जार बिक्री वितरण गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली २०७६ बमोजिम सम्बन्धित बिक्रेतालाई हदैसम्मको कारबाही गरिनेछ । विभागले तोकेको मूल्यभन्दा बढी रकम तिरेर पानी खरिदसमेत नगर्न र काहींकतै कसैले जबरजस्ती बढी रकम लिन खोजेमा विभाग वा मातहतका कार्यालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय वा स्थानीय तहमा सूचना दिन विभागले उपभोक्तालाई आग्रह गरेको छ ।
यता विभागको उक्त निर्णयलाई राष्ट्रिय उपभोक्ता मञ्चले स्वागत गरेपनि काठमाडौं बाहिरका जिल्लाका लागि अझै मूल्य घटाउन माग गरेको छ ।