दैलेख कारागारका कैदीबन्दीको निःशुल्क आँखा चेकजाँच
स्काई न्यूज असोज २७, सुर्खेत । सुर्खेत आँखा अस्पतालको समन्यमा दैलेख कारागारमा रहेका कैदीबन्दीको आँखा चेकजाँच गरिएको छ । दैलेख आँखा उपचार केन्द्रले विहीबार विश्व दृष्टि दिवसको अवसर पारेर कारागारमा रहेका १ सय २० जना कैदीबन्दीको निःशुल्क आँखा चेकजाँच गरेको हो । चेकजाँचका क्रममा केही कैदीबन्दीमा आँखा सम्बन्धि समस्या रहेको पाईएपछि निःशुल्क औषधि समेत वितरण गरिएको थियो । दिवसकै अवसरमा सुर्खेत आँखा अस्पतालले विविध कार्यक्रम आयोजना गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा मोतिविन्दु अप्रेशन गरिएका विरामी तथा कुरुवालाई फलफूल वितरण गरिएको अस्पतालका प्रबन्धक घनबहादुर थापाले जानकारी दिए । उनका अनुसार फलफूल वितरण कार्यक्रममा अस्पताल सञ्चालन समितिका सभापति रामलाल आचार्य, डाक्टर मनिस खतिवाडा, नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखाका सभापति बलप्रसाद सन्ज्याललगायतको उपस्थिति रहेको थियो । सुर्खेत आँखा अस्पतालले ‘आँखालाई माया गरौं’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व दृष्टि दिवस मनाएको छ ।
सर्वसाधारणमा चेतना जगाउन र आँखाको उपचारमा सबैलाई प्रेरित गर्न प्रत्येक वर्ष अक्टुबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिएको प्रबन्धक थापाले बताए । ‘आँखा उपचार सेवालाई प्रभावकारी बनाउन विभिन्न संघ संस्थासँग समन्वय गर्ने गरिएको छ,’ उनले भने, ‘सर्वसाधारणमा चेतना फैलाएर आँखाको परीक्षण तथा उपचारका लागि सबैलाई प्रेरित गर्न आवश्यक छ ।’ उनले उपचार गरे मात्रै आँखालाई सुरक्षित राख्न सकिन्छ भन्ने सन्देश सबैमा पुगेमा आँखा सम्बन्धी रोग न्यूनीकरण र त्यसबाट हुने अन्धोपना रोकथाममा मददत पुग्ने जनाए ।