समुदायमा सरकारी वकील कार्यक्रम


स्काई न्यूज /असोज २९, सुर्खेत । समुदायलाई सरकारी वकीलको काम कर्तव्य र अधिकारका बारेमा जानकारी दिने उद्देश्यले आयोजित समुदायमा सरकारी वकील कार्यक्रम शनिबार सुर्खेतको भेरीगंगा नगरपालिकाको छिन्चुमा सम्पन्न भएको छ । उच्च सरकारी वकील कार्यालय सुर्खेत र जिल्ला सरकारी वकील कार्यालय सुर्खेतले छिन्चुमा गरेको अन्तरक्रिया कार्यक्रममा समुदाय र सरकारी वकील वीचको फौजदारी कसुर सम्बन्धि मुद्धाको विषयमा के कसरी सम्बन्ध कायम गर्ने, समुदायले सरकारी वकीलबाट के कस्तो अपेक्षा गर्ने, समुदायबाट सरकारी वकीलले के कस्तो अपेक्षा राख्ने विषयमा जानकारी गराईएको थियो ।

उच्च अदालत सुर्खेतका न्यायाधीस लेखनाथ ढकालले सरकारी वकील र समुदाय वीचको सम्बन्धले अपराधीलाई दण्डित गर्ने र पीडितलाई क्षतिपूर्तिसहितको न्याय दिलाउने काम हुने जनाए । उच्च सरकारी वकील कार्यालय सुर्खेतका सहन्यायाधिवक्ता ज्ञानप्रसाद भुसालले समुदाय र सरकारी वकील वीचको सम्बन्धले समाजमा शान्ति सुव्यवस्था कायम गर्न तथा अपराध नियन्त्रीत समाजको निर्माण गर्न महत्वपूर्ण भूमिका रहने बताए ।

सरकारी वकील कार्यालय सुर्खेतका जिल्ला न्यायाधिवक्ता नविनकुमार भट्टले सरकारी वकीलको काम, कर्तव्य र अधिकारका बारेमा जानकारी दिए । उनले सरकारवादी फौजदारी मुद्धा सरकारी वकीलले दायर गर्ने र दुनियावादी मुद्धाहरु व्यक्ति स्वयम्बाट सम्बन्धित अदालतमा दायर हुने बताए । सरकारवादी फौजदारी मुद्धामा साक्षीहरुको सहयोग र प्रहरीसँगको समन्वयबाट मात्र अनुसन्धानमा प्रभावकारिता हुने उनको भनाइ थियो । कार्यक्रममा भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख धनसरा बोहरा, सहायक जिल्ला न्यायधिवक्ता कमलप्रसाद कोइराला, नायव सुब्बा गोपाल सापकोटा र नायब सुब्बा क्रान्ति विसीलगायतको सहभागिता रहेको थियो ।


