गाउँपालिकाद्वारा निःशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा

असोज ३१, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले निःशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नायव सुब्बा, खरिदार शिक्षा प्रा.स. तथा प्राथमिक एव निम्न माध्यमिक तहको सेवाका लागि कक्षा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

कक्षा लिनका लागि योग्यता पुगेका पालिकाभित्रका इच्छुकहरूले आगामी कार्तिक ६ गते सम्म आ–आफ्ना वडा कार्यालयमा निवेदन दिन सक्ने प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिए । पछिल्लो समय स्थायी जागिरको लागि आकर्षण बढ्दै गएपछि गाउँपालिकाले तयारी कक्षा सञ्चालनको तयारी गरेको हो ।

कपुरकोट गाउँपालिकाबाट पनि प्रतिस्पर्धी जनशक्ति उत्पादन गरेर स्थायी जागिरका लागि योग्य बनाउन निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले बताए । उनले भने, ‘लोकसेवा तथा शिक्षक सेवाको तयारी कक्षा लिनलाई टाढा जानुपर्ने र रकम तिर्नुपर्ने बाध्यता छ ।

यसलाई मध्यनजर गरेर हामीले आफ्नै गाउँठाउँमा दक्ष प्रशिक्षकहरूबाट कक्षा सञ्चालनको व्यवस्था मिलाएका छौँ ।’ सबै कक्षाहरूमा एक सय घण्टाको पुरा कोर्ष पढाइ हुने गाउँपालिकाले जनाएको छ ।

हाल निवेदन सङ्कलन गरिने र दीपावली तथा छठ पर्व लगत्तै कक्षा सञ्चालनको तयारी गरिएको छ । राष्ट्रिय स्तरका प्रशिक्षक मार्फत कक्षा सञ्चालन हुने जनाउँदै प्रमुख प्रशासकीय अधिकृत वलीले कक्षा सञ्चालन मिति र स्थानबारे अर्को सूचना प्रकाशित गरिने बताए । रेडियो नेपाल

Translate »