कालिकोट बम विस्फोटमा दुई बालिकाको मृत्यु
स्काई न्यूज/ कार्तिक १२, सुर्खेत । कालिकोटको तिलागुफा नगरपालिकामा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु भएको छ । शनिबार जिल्लाको तिलागुफा नगरपालिका–१०, मा बिहान ८ बजे बम विस्फोट हुँदा दुई जना बालिकाको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्लाको तिलागुफा नगरपालिका–१० की ४ वर्षीया झरना थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको छ भने ४ वर्षकी सरस्वती रानाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको छ । घटनामा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा गम्भीर घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।
स्थानीय बासिन्दाले गाई चराउन गएका बालबालिकाले ओढारमा भेट्टाएको वस्तु खेलाउँदा विस्फोट भएको बताएका छन् । यता प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले घटनास्थलमा स–साना फलामका टुक्रा भेटिएकाले सकेट बम हो कि भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा आशंका गरिएको जनाए । उनका अनसार बम नयाँ वा पुरानो हो भन्ने अनुसन्धान भइरहेको छ ।
यो पनि ….नेपाली सेनाद्वारा सकेट वम डिस्पोज https://skynewsnepal.com.np/2022/10/26/26787