कँडेलको प्रतिबद्धता पत्र : प्रदेश राजधानीलाई आधुनिक सहर बनाइने

कात्तिक १८, सुर्खेत । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् सुर्खेत क्षेत्र नं २ (क )का उम्मेदवार यामलाल कँडेलले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धतामा कँडेलले कर्णाली प्रदेश राजधानीलाई सुरक्षित, व्यवस्थित र आधुनिक सहर बनाउनेदेखि कर्णाली प्रज्ञा प्रतिष्ठान गठन गर्नेसम्मका योजनाहरु समेटेका छन् ।समृद्ध नेपाल, सुखी नेपालीको आधार, कर्णाली प्रदेशमा एमालेको सरकार मूल नारा सहितको २८ बुँदे प्रतिबद्धता पत्रमा १ सय ३२ केभिए विद्युत् लाइन प्रसारण लाइन विस्तार, खानेपानीको दीर्घकालीन समस्या समाधान, कोहलपुर–सुर्खेत खण्डलाई फोरलेनका रूपमा स्तरोन्नति, वीरेन्द्रनगरको गुरूयोजना, सुर्खेत विमानस्थलको स्तरोन्नति, वीरेन्द्रनगरको चक्रपथको पूर्णता, प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्नका लागि मेडिकल कलेजको पूर्वाधार निर्माण, वीरेन्द्रनगर नगरमा साइन्स पार्क निर्माण जस्ता योजनाहरू समेटेका छन् ।
त्यस्तै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या सामाधानका लागि पूर्जा वितरणका लागि पहल गर्ने, उपत्यकाको ढल निकासका लागि गुरूयोजना बनाई कार्यान्वयन गर्न पहल गर्ने, वीरेन्द्रनगर नगरका विभिन्न क्षेत्रमा हाटबजार सञ्चालन गर्न पहल गर्ने, हालको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयलाई स्वरोजगार तालिम केन्द्रको रूपमा विकास गर्ने जस्तो योजनाहरू समेटेका छन् ।

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै कँडेलले मतदाताले निर्वाचित गरेको खण्डमा सार्वजनिक प्रतिबद्धता अक्षरशस् कार्यान्वयन गर्ने उनको भनाइ छ ।