स्थिर सरकारका लागि पाँच दलीय गठबन्धन : प्रधानमन्त्री देउवा

स्काई न्यूज /कार्तिक २९, सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन स्थिर सरकारसँगै तीव्र आर्थिक विकासका लागि बनाउनु परेको बताएका छन् । आज पूर्वी सुर्खेतको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न गठबन्धन आवश्यक रहेको जनाए । उनले संविधानको रक्षा, स्थायित्व र शान्तिका लागि अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन दीर्घकालसम्म रहने जिकिर गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि देशमा राजनीतिक परिवर्तन, अनुकुल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायमै रहने बताए । उनले संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र समृद्धिको लागि अहिलेको गठबन्धन आवश्यक रहेको औल्याए ।

नेपाली काँग्रेसका उपसभापति तथा सुर्खेत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १, का उम्मेदवार पूर्णबहादुर खड्काले कर्णाली प्रदेश प्राकृतिक स्रोत–साधनले सम्पन्न भएपनि भौतिक पूर्वाधारमा पछाडि परेकाले केन्द्रको बजेटमार्फत कर्णालीलाई पूर्वाधार सम्पन्न बनाइनु पर्नेमा जोड दिए ।

Translate »