प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन : सुर्खेतमा गठबन्धनकै अग्रता

स्काई न्यूज /मंसिर ६, सुर्खेत । मतगणना जारी रहेको कर्णालीका सुर्खेत क्षेत्र नं. २, दैलेख–१, जुम्ला र सल्यान, रुकुम पश्चिम, कालिकोट, जाजरकोटमा गठबन्धनका उम्मेदवारहरूले अग्रता लिएका छन् । मंगलबार राति अबेरसम्म सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, मुगु, जुम्ला, रुकुम पश्चिम र सल्यानको मतगणना जारी रहेको छ । कर्णालीका डोल्पा र हुम्लामा भने मतपत्र सदरमुकाम नपुग्दा मतणनाको काम सुरु भएको छैन् ।
मंगलबार रातिसम्म सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानीले अग्रता लिइरहेका छन् । उनलाई एमालेका अमृतबहादुर बुढाक्षेत्रीले पछ्याइरहेका छन् । थानीको २१ हजार ७ सय ७७ मत हुँदा बिसीको १७ हजार ९ सय ३९ मत छ । ४७ हजार ७ सय २३ मत गणना हुँदा २३ सय ८५ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सुर्खेत–१ मा भने सिम्तास्थित सिम्ता बहुमुखी क्याम्पसमा स्थगित मतदान आज शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
मंगलबार नै राजनीतिक सहमति जुटाएर आजै मतगणना कार्य सुचारु गर्ने तयारी गरिएको छ । यसअघि त्यहाँ प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको मतपत्रको बाकसमा परेको पाइएपछि दलहरूबीच विवाद हुँदा मतदान स्थगित भएको थियो । त्यस्तै दैलेख–१ मा एमालेका रविन्द्रराज शर्माभन्दा एकीकृत समाजवादीका अम्मरबहादुर थापा अगाडि छन् । सल्यानमा प्रकाश ज्वालाले एमालेका उम्मेदवार पछि पार्दै अग्रता हासिल गरेका छन् ।

मतदातामा देखिएन उत्साह
सुर्खेतमा यस पटकको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मतदातामा खासै उत्साह देखिएन । यसअघिका चुनावमा ७० देखि ८० प्रतिशत मत खस्दै आएकोमा यस पटक ६३ प्रतिशत मात्र खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । विप्लव समूहको बहिष्कारको आव्हान, दलहरुबीच गठबन्धन, मौसमी बसाइँसराइ, युवा पलायनजस्ता कारणले कम मत खसेको नागरिक समाजका अगुवा काशीराम देवकोटाले बताए ।
सुरक्षाको राम्रो प्रबन्ध गरेकाले कुनै ठाउँमा पनि अप्रिय घटना नभएको सुर्खेतका प्रमुख अधिकारी खगेन्द्रप्रसाद रिजालको भनाई छ । यस पटक जिल्ला बाहिर रहेका अधिकांश मतदाता घर फर्केनन् । यहाँका करिब २० प्रतिशत मतदाता जिल्ला बाहिर छन् । घरमै भएकाले पनि मतदान गर्न चासो नदेखाएको स्थानीय धिरबहादुर शाहीले बताए ।