सुर्खेत–२, मा सत्ता गठबन्धनका थानी विजयी

स्काई न्यूज /मंसिर ७, सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्वर २, बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका हृदयराम थानी विजयी हुनु भएको छ । कुल खसेको ७६ हजार ७ सय ७५ मध्ये सत्ता गठबन्धनका उम्मेदवार थानीले ३४ हजार ६ सय २५ मत प्राप्त गरेर विजयी हुनु भएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अमृतबहादुर बुढाक्षेत्रीले २९ हजार ५ सय ५८ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकारी विष्णुप्रसाद अर्यालले बताउनु भयो । उहाँले कुल खसेको मध्ये ३ हजार ७ सय २ मत बदर भएको जानकारी दिनु भयो ।

को हुन थानी ?
थानीले यो जीतसँगै तीन पटक संसदीय निर्वाचनमा विजयी भई सक्नु भएको छ । यसअघि २०५६ र ०७० सालमा यही क्षेत्रबाट निर्वाचित हुनु भएका थानी सहकारी तथा गरिवी निवारण मन्त्रीसमेत भईसक्नु भएको छ । २०७४ सालमा एमालेका नवराज रावतसँग पराजित हुनु भएका थानीले यो पटक सत्ता गठबन्धनको बलमा एमालेसँग बदला लिनु भएको छ ।

अघिल्लो पटक रावतले ३७ हजार ४ सय ४७ मत ल्याएर विजयी हुँदा थानीयले २८ हजार ६ सय ४६ मत प्राप्त गर्नु भएको थियो । विक्रम सम्वत २०१७ साल जेठ २६ गते पिता पदमलाल थानी र माता देवी थानीको पुत्रको रुपमा सुर्खेतको वीरेन्द्रनगरमा जन्मिनु भएका थानीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको शिक्षा लिनु भएको छ ।

विद्यार्थी जीवनदेखि नै नेपाली काँग्रेसको राजनीतिमा लाग्नु भएका थानी २०४३–०४८ सम्म नेपाल विद्यार्थी संघ, केन्द्रीय समितिको उपाध्यक्ष हुँदै नेपाली कांग्रेस जिल्ला कार्य समिति, सुर्खेतको सभापति समेत भई सक्नु भएको छ । तेह्रौं महाधिवेशनमा केन्द्रीय सदस्य भएपनि चौधौं महाधिवेशनमा भने पराजित हुनु भएको थियो ।

Translate »