सुर्खेत–१, बाट काँग्रेस उपसभापति पूर्णबहादुर खड्का पाँचौ पटक निर्वाचित
स्काई न्यूज /मंसिर ८, सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्वर १, बाट नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । खड्काले ४२ हजार ६ सय ७ मत ल्याएर विजयी हुनु भएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार ध्रुवकुमार शाहीलाई ३० हजार ९ सय ८८ मत ल्याउनु भएको थियो । एमालेका शाही ११ हजार ६ सय १९ मतान्तरले पराजित हुनु भएको हो ।
को हुन खड्का ?
नेपाली कांग्रेसका उपसभापति तथा पाँचदलीय गठबन्धनका संयोजक पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ प्रतिनिधीसभाबाट पाँचौ पटक विजयी हुनु भएको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका निकट सहयोगी खड्का कर्णाली प्रदेशबाट पहिलोपटक कांग्रेस पदाधिकारीमा पुग्न सफल नेता हुनुहुन्छ । खड्का विगतमा पाँचपटक निर्वाचित सांसद र पाँचौ पटक मन्त्री भइसक्नु भएको छ ।
२०३१ सालबाट राजनीतिक यात्रा शुरु गर्नु भएका खड्का २०३४ सालमा सुर्खेत कांग्रेसको सभापति हुनु भएको थियो । २०३६ सालमा बहुदल र निर्दलबीचको चुनावमा कांग्रेसले भाग लिने निर्णय गर्दा खड्काले वीरेन्द्रनगरमा मेयरको रुपमा चुनाव जित्नु भएको थियो । विभिन्न समयमा गरेर ५ महिनाभन्दा बढी जेलजीवन बिताउनु भएका खड्का सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट पाँचौं पटक सांसदमा विजयी हुनु भयो भने एकपटक मात्र पराजित हुनु भएको थियो ।