नरहरिनाथमा अपाङ्गता दिवस मनाईयो
स्काई न्यूज /मंसिर १७, कालिकोट । कालिकोटको नरहरिनाथमा ३१ औं अपाङ्गता अन्तर्राष्ट्रिय दिवस मनाईएको छ । समावेशी विकासका लागि रुपान्तरणकारी समाधान पहुँचयुक्त र समतामूलक विश्व निर्माणका लागि विश्व प्रवर्तन भन्ने मुल नाराका साथ मनाईएको दिवस कार्यक्रममा अपाङता भएका व्यक्तिले जीविकोपार्जनका लागि राज्यले समान अवसर उपलब्ध गराउन माग गरेका छन् ।
न्यायको माग सहित उनीहरुले राज्यको विभेदकारी कानूनका कारणले अपांगता भएका व्यक्ति–व्यक्ति वीच समेत विभेद हुँदै आएको बताएका हुन् । नरहरिनाथ गाउँपालिकाको प्रागणमा भएको दिवसमा अपाङ्ग पुर्नस्थापना केन्द्र कालिकोटका अध्यक्ष केशवराज देवकोटाले लैङ्गिकता, आपंगता, जातीयता र अधकिारहरुको सुनिश्चित नभएसम्म समाजले फड्को मार्न नसक्ने जनाए ।
उनले अपांङ्ग–अपाङ्ग वीचको विभेदलाई अन्त्य गर्दै समान अवसरसहित सुनिश्चित सहभागिता अपरिहार्य रहेको औल्याए । कार्यक्रममा नरहरिनाथ गाउँपालिका उपाध्यक्ष कमलकुमार शाहले कानून कार्यान्वयनका क्रममा केही प्रावधिक समस्याहरु रहेपनि समग्रमा अपांगता भएका व्यक्तिले पाउने सेवा सुविधा दिन कुनै कसर बाँकी नराखिने बताए ।
यता गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गलाल न्यौपानेले तीन सय ३१ जना अपागता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएपनि थप व्यक्तिहरुको तथ्यांक संकलन कार्य तीव्र पारिने प्रतिवद्धता जनाए । सहास नेपाल (पाइला परियोजना) र नरहरिनाथ गाउँपालिकाको संयुक्त आयोजना भएको कार्यक्रममा आईएनएफ, अपाङ्ग पुर्नस्थापना केन्द्रलगायतका संघसंस्थाका प्रतिनिधिहरुले अपांगता भएका व्यक्तिहरुको हक, हित र अधिकारका लागि सामूहिक एक्यवद्धता आवश्यक रहेको औल्याएका थिए ।