प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना सकियो : ओली

पुस ९, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना समाप्त हुन लागेको टिप्पणी गरेका छन् ।


एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा गरेको कार्यक्रममा उनले प्रचण्डले ढिला गरेको बताए ।‘पुष्पकमल दाहालजी प्रधनमन्त्रीको इच्छा गरिरहनुभएको छ, मलाइ लाग्छ उहाँले ढिला गर्नुभयो निर्णय गर्न ढिला गर्नुभयो’ उनले भने ।

ओलीले संस्कृतको एउटा नीति श्लोक सुनाउँदै जुनसुकै काम पनि बेलामा नगरेमा त्यसको फल खान नपाउने बताए ।उनले भने, ‘‘लिनुपर्ने कुरा, दिनुपर्ने कुरा, गर्नुपर्ने काम जेजस्ता छन्, ती समयमै गर्नुपर्दछ । भएन भने, होइन भने, समयमा कुनै काम गरिदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ । समयले नै त्यसको फल खाइदिन्छ । यदि तपाई‌ंले आँप पाकेकै बेला टिप्नुभएन भने खान पनि पाउनु हुन्न, बेच्न पनि पाउनु हुन्न । किनभने त्यो आफैं झेरर जान्छ । त्यसको रस, त्यसको फल, त्यसको प्रतिफल, त्यसको फाइदा समयले खाइदिन्छ । त्यस्तै हुने अब उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । किनभने उहाँले समयमा कदम चाल्नुभएन ।’ अनलाइन खबर

Translate »