अधिवक्ता दीनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्त

पुस १३, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता दीनमणि पोखरेललाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा भण्डारीले पोखरेललाई बुधबार महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बुधबार प्रेस विज्ञप्ति जारी गरी नियुक्तिबारे जानकारी दिएका छन् ।

संवैधानिक कानुनका जानकारसमेत रहेका अधिवक्ता पोखरेलले ‘बौद्धिक सम्पत्ती’ सम्बन्धी कानुनमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।

सरकारको मुख्य कानुनी सल्लाहकार रहने महान्यायाधिवक्ता प्रधानमन्त्रीले चाहेको अवधिसम्म आफ्नो पदमा बहाल रहने व्यवस्था संविधानमा छ ।


संवैधानिक एवं कानुनी विषयमा नेपाल सरकार र सरकारले तोकिदिएको अन्य अधिकारीलाई राय सल्लाह दिनु महान्यायाधिवक्ताको कर्तव्य हुन्छ । साथै नेपाल सरकारको हक, हित वा सरोकार निहित रहेको मुद्दामा अदालतमा नेपाल सरकारको प्रतिनिधित्व महान्यायाधिवक्ता वा मातहतका सरकारी वकिलबाट हुन्छ । कुनै अदालतमा नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने अधिकार पनि महान्यायाधिवक्तालाई हुन्छ । नेपाल सरकारको तर्फबाट दायर भएको मुद्दा फिर्ता लिँदा पनि महान्यायाधिवक्ताको राय लिनु पर्छ ।

 

 

Translate »