२०८३ साउन २८ , बिहीबार
Sky News Nepal
August 13, 2026

विदेशबाट घर परिवारलाई मोबाइल उपहार ल्याउँदै हुनुहुन्छ ? विमानस्थलमै जफत होला नी !



पुस १४, काठमाडौं । के तपाईं वैदेशिक रोजगारीबाट फर्कँदै हुनुहुन्छ ? परिवारका सदस्यलाई मोबाइल उपहार ल्याउने सोच त बनाउनु भएको छैन ? सोच बनाउनु भएको छ भने अब त्यो सोच बदलिदिनुहोस ।

सरकारले विदेशबाट फर्किने नेपालीले १ भन्दा बढी फोन ल्याएर आएमा १८ प्रतिशत कर तिराउने र २ भन्दा बढी फोन ल्याएमा जफत गर्ने तयारी गरेको छ ।

व्यक्तिले प्रयोग गरिरहेको सहित थप एउटा मोबाइल ल्याएको छ भने दोस्रो मोबाइलको लागि अनिवार्य रुपमा भन्सार विभागलाई १८ प्रतिशत कर तिर्नु पर्नेछ । तर तेस्रो फोन पनि बोकेर आएको खण्डमा भने विमानस्थलमै जफत गर्ने गरी सरकार अघि बढेको छ ।

सरकारले आगामी पुस १५ गतेपछि मोबाइल भित्र्याउने नियमहरूमा कडाई गर्ने तयारी गरिरहेको छ । व्यक्तिले विदेशबाट एउटा मोबाइल ल्याउँदा ५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर गरी कुल १८ प्रतिशत कर अनिवार्य तिर्नुपर्ने छ।

भन्सार राजस्व तिरिसकेपछि उक्त मोबाइलका लागि विभागले प्रज्ञापनपत्र दिन्छ। अहिले नेपाल दूरसञ्चार प्राधिकरण मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) प्रणाली लागू गरेको छ। गैरकानुनी बाटोबाट आएका मोबाइलको प्रयोगलाई रोक्न भन्दै प्राधिकरणले यो प्राणाली लागू गरेको हो । यो प्रणाली लागू भएपछि आधिकारिक रुपमा आयात भएका फोन बाहेक अरू फोन दर्ता गर्नुपर्ने हुन्छ ।

अवैध ढंगमा मोबाइल भित्र्याउने प्रवृत्ति रोक्न दूरसञ्चार प्राधिकरणले लागू गरेको एमडिएमएसलाई प्रभावकारी बनाउन पनि भन्सार विभागले विदेशबाट ल्याइने फोनको भन्सार शुल्क तिराउने विषयमा कडाइ गर्न खोजेको दाबी गरेको छ ।

सरकारले यस्तो नियम ल्याएपछि सामाजिक सञ्जालमा यसको विरोध पनि भइरहेको छ ।

देश चलाउने रेमिट्यान्स पठाउने नेपाली दाजुभाइ स्वदेश फर्किंदा घर परिवारलाई १ थान मोबाइल पनि ल्याउन नदिने कस्तो सरकार हो भन्दै यो निर्णयप्रति प्रश्न उठाइरहेका छन् ।आर्थिक अभियान

प्रकाशित मिति : २०७९ पुस १४ गते बिहीबार
Translate »