कर्णालीमा २१ प्रतिशत असुरक्षित गर्भपतन

पुस १४, सुर्खेत । कर्णालीमा कम उमेरमै गर्भवती हुने युवतीको सङ्ख्या वृद्धि हुँदै गएको पाइएको छ । १५ देखि १९ वर्ष उमेर समूहका अधिकांश युवतीहरू आमा बन्ने गरेको पाइएको हो । यो तथ्यांकले कर्णालीमा बालविवाह अझै विकराल अवस्थामा रहेको देखाउँछ । तथ्यांकले बालविवाह गरेको स्पष्ट देखाए पनि बालविवाह विरुद्धका उजुरी आउने गरेका छैनन् ।
कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक दीपा भट्टराईले कर्णालीमा २१ प्रतिशत युवती २० वर्ष नपुग्दै गर्भवती (आमा) बन्ने गरेको बताए। ‘कम उमेरमा गर्भवती हुनु नै बालविवाहको कारण हो । माथिल्लो कर्णालीमा बालविवाहका अवस्था भयावह देखिन्छ ।’ उनले भने ।
कर्णाली प्रदेशमा अहिले ५२ प्रतिशत बालविवाह कायमै रहेको सरकारी तथ्यांकले देखाएको छ । बालविवाह न्युनिकरणका लागि सरकारी तथा गैरसरकारी निकायले करोडौँ खर्चिए पनि अपेक्षित उपलब्धी हुन सकेको छैन ।

गत दुई आ.व. पहिले मात्रै जुम्लाका ८ सय ६० किशोरीले २० वर्ष नपुग्दै गर्भवती भएको तथ्यांक स्वास्थ्य कार्यालय जुम्लाले सार्वजनिक गरेको थियो ।
कर्णालीमा २० वर्षभन्दा कम उमेरका २१ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेका छन् प्रदेशमा ५७ प्रतिशत महिलाले असुरक्षित रूपमा गर्भपतन गराउने गरेका छन् ।
नेपालमा प्रति वर्ष १२ लाख महिला गर्भवती हुने गरेकामा पाँच लाख ३९ हजार अथवा ४५ प्रतिशत अनिच्छित रुपमा गर्भवती हुने गरेका छन् ।
जनचेतनाको अभावले असुरक्षित गर्भपतनको दर बढेको छ । नेपालमा १९ प्रतिशत जन्म अनिच्छित गर्भधारणबाट हुने गरेको छ । गर्भपतनका कारण सात प्रतिशत मातृ मृत्युदर हुन्छ । २५ प्रतिशतलाई गर्भपतन सेवाबारे जानकारी नहुने गरेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ ।