एउटै पालिकाबाट ६ जना प्रदेश सांसद
बर्दिबास । महोत्तरीको मनरासिसवा नगरपालिकाबाट ६ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचितमध्ये ४ जना महिला र दुई पुरुष सांसद हुन । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो नगरपालिका ठेगाना भएका प्रत्यक्षतर्फ २ र समानुपातिकबाट ४ जना निर्वाचित भएका छन् । मनरासिसवा नगरपालिका प्रमुख मोहन पाण्डेका अनुसार निर्वाचित सबै ६, ७ र ८ नम्वर वडाका स्थायी बासिन्दा हुन । १० वडा रहेको मनरासिसवा निर्वाचन क्षेत्र नम्वर ४ (२) अन्तर्गतको पालिका हो । तर यसको वडा नम्वर ८, ९ र १० क्षेत्र नं ३ (२) मा पनि पर्छ ।
प्रत्यक्षतर्फबाट मनरासिसवा ८ सहसरामकी रानीकुमारी तिवारीले क्षेत्र नं ३ (२) बाट र वडा नम्वर ७ सरपल्लोका सरोजकुमार सिंह क्षेत्र नं ४ (२) बाट निर्वाचित भएका छन् । तिवारी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तथा सिंह जनता समाजवादी पार्टी (जसपा) सँग आबद्ध हुन । त्यस्तै समानुपातिकतर्फ मनरासिसवा वडा नम्वर ६ सरपल्लोकी रमिता प्रधान लोसपाबाट, वडा नम्वर ७ सरपल्लोकै अनिता साह र वडा नन्वर ८ सहसरामका चन्दन सिंह जनमत पार्टीबाट, तथा वडा नम्वर ८ सहसरामबाटै अञ्जना पण्डित नेपाली काङ्ग्रेसबाट मधेस प्रदेश सांसद निर्वाचित भएका छन् ।
‘‘मधेस प्रदेशका साथै मनरासिसवाका जनताको सर्वाङ्गीण विकासमा हाम्रा ६ जना सांसदले अविस्मरणीय, अनुकरणीय एवं उदाहरणीय प्रतिनिधित्व गर्नु हुनेमा हामी विश्वस्त छौं र सफलताको कामना पनि गर्दछौं,’ नगरप्रमुख पाण्डेले भने । प्रदेश सांसदमा दोस्रो पटक निर्वाचित हुन सफल भएकी रानीकुमारी तिवारीले आफूहरू सबै ६ जना प्रदेश सांसद एउटै पालिकाको भएकोमा आफूलाई गौरव लागेको प्रतिक्रिया दिईन् । मनरासिसवाको सर्वाङ्गीण विकासका लागि सबै ६ जना प्रदेश सांसद वीच समन्वय गरेर अगाडि बढ्न आफूले पहले गर्ने उनले बताईन् । गोरखापत्र अनलाईन