सत्तारुढ गठबन्धनमा सामेल हुन सकिँदैन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सामेल हुन आग्रह गरिरहँदा उनले यस्तो बताएका हुन् ।

सोमबार (आज)बाट काठमाडौंमा शुरु भएको पार्टी पोलिटब्यूरो बैठकमा उनले राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर आफ्नो पार्टी अघि बढ्ने पनि स्पष्ट पारे । अध्यक्ष नेपालले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै कसैसामु लत्रने पक्षमा नरहेकोसमेत बताए । मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे वस्तुनिष्ठ समीक्षा गरेर आफूहरू अघि बढ्ने तर आरोपप्रत्यारोपको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ थियो ।


अध्यक्ष नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरूको प्रयास असफल भएपछि नयाँ पार्टी खोलेर अघि बढ्नुपरेको तथ्य बुझ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । ‘यो आरोपप्रत्यारोप गर्ने बेला पनि होइन । कसैसामु लत्रिनुपरेको पनि छैन । हामीले ठिक गरेका छौं । दृढताका साथ उभिएका छौं । एकले अर्कालाई आरोपप्रत्यारोप गरेर केही पार लाग्नेवाला छैन । त्यसैले हामी सबै कुराको बस्तुनिष्ठ समीक्षा गर्दै अघि बढ्न तयार छौं,’ उनले भने ।

अध्यक्ष नेपालले आफूहरूबाट केही गल्ती भए सच्चिन तयार रहेको उल्लेख गर्दै कसैलाई पनि पानी माथिको ओभानो बन्ने प्रयास नगर्न पनि चेतावनी दिए । ‘तथ्य देखाऔं, प्रमाणित गरौं । त्रुटि छन् भने हामी सच्चिन तयार छौं,’ उनले भने, ‘पानी माथिको ओभानो बन्ने काम कसैले पनि नगरे हुन्छ । तपाईँहरुलाई थाहा छ–राष्ट्रिय राजनीति अगाडि बढ्यो । प्रतिनिधिसभा विघटनलाई हामीले प्रतिगामी कदमको रुपमा आलोचना गर्‍यौं । विरोध गर्‍यौं ।’

आजबाट शुरु भएको बैठकमा नेताहरूले सरकारमा पार्टी सहभागी हुने वा नहुने भन्ने विषयमा पनि आ–आफ्नो धारणा राख्ने एजेण्डासमेत तय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । त्यसैगरी बैठकमा निर्वाचनको समीक्षा, पार्टीको भावी नीति र कार्यक्रमबारे पनि छलफल हुने एकीकृत समाजवादीले जनाएको छ । आर्थिक अभियान

Translate »