बागमती प्रदेशमा पुस २५ गतेभित्र सरकार गठन गर्न आव्हान

पुस २१, काठमाडौं । बागमती प्रदेश सरकार गठनको लागि आव्हान गरिएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आव्हान गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आव्हान गरेका हुन् । कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुसँगको सहकार्यमा सरकार गठनका लागि आव्हान गरेको प्रदेश प्रमुख कार्यालय हेटौंडाले जनाएको छ ।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिन भित्र सरकार गठन गरिसक्नु पर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा दावी पेश गर्न आव्हान गरेका हुन् ।
११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५६ जनाको सांसदको समर्थन आवश्यक हुन्छ । बागमती प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना सांसद रहेका छन् भने एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।