यतीको जहाज दुर्घटनामा चालक दलसहित ७२ जना सवार, विदेशी नागरिक ८ जना

काठमाडौं । कास्कीको पोखरा विमानस्थल नजिकै सेती खोंचमा दुर्घटनाग्रस्त बनेको यती एयरलाइन्सको एटीआर ७२ जहाजमा चालक दलसहित ७२ जना सवार रहेको बताइएको छ । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाका अनुसार उक्त चालक दलका ४ सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए । यात्रुमध्ये २ जना बालबालिका रहेकाे उनले जानकारी दिए ।

बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एसीएनसी विमान करिब ११ः१० बजे पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमानको प्राविधिक कारणले दुर्घटना भएको बताए । ‘मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ ।’

विमानमा रहेका यात्रुमध्ये ८ विदेशी नागरिक रहेकाे बताइएको छ ।

दुर्घटनामा परेकाको उद्धार जारी रहेको र घटनाको क्षति यकिन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । जहाजमा आगो लागेकाले धुँवा उडेको देखिएको स्थानीय दिवस बोहराले जानकारी दिए ।

एयरलाइन्सका अनुसार जहाज क्याप्टेन कमल केसीले उडाएका थिए ।

Translate »