कर्णाली प्रदेश सभामुख गुरुङद्वारा सपथग्रहण

स्काई न्यूज /माघ १, सुर्खेत ।  कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको सभामुखमा नन्दा गुरुङलाई शपथ ग्रहण गराएका छन् । प्रदेश प्रमुख परियारले आईतबार सुर्खेतमा आयोजित एक कार्यक्रमका वीच सभामुख गुरुङलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण समारोहमा प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, मन्त्री तथा सरकारी उच्च पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । सभामुख गुरुङले आजै प्रदेशसभा सचिवालयमा आफ्नो पदभार ग्रहण गरेकी छिन् ।

यसअघि आजै कर्णाली प्रदेशको सभामुख पदमा सत्तागठबन्धनका तर्फबाट नेकपा (एमाले) की गुरुङ निर्वाचित भएकी हुन् । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले सभामुखमा गुरुङलाई बहुमतले निर्वाचित गरेको हो । ४० सदस्यीय प्रदेशसभाको बैठकमा उपस्थित ३८ सदस्य मध्ये गुरुङको पक्षमा २४ जनाले मतदान गरेका थिए भने सभामुख पदका अर्का उम्मेदवार नेपाली काँग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गरेका थिए ।

प्रदेशसभा हल भित्रै रहेका स्वतन्त्र सांसद देवेन्द्र शाहीले भने कसैलाई पनि मत दिएनन् । उक्त मत परिणाम अनुसार प्रदेशसभाका ज्येष्ठ सदस्य हिक्मतबहादुर विष्टले गुरुङ विजयी भएको घोषणा गरेका थिए । नेपालका सातै प्रादेशिक सभामुखमा पहिलो महिला सभामुख बनेर गुरुङले ईतिहास रच्न सफल भएकी छिन् । एमाले सुर्खेतबाट समानुपातिकमा निर्वाचित सभामुख गुरुङ यसअघि महिला मुक्ति आन्दोलनका लागि लामो समयदेखि वकालत गर्दै आएकी थिईन् ।

Translate »