प्रतिनिधिसभाको उपसभामुखमा दुई जनाको मनोनयन दर्ता
माघ ६, काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना मगर र नेपाली कांग्रेसका सांसद मुक्ता कुमारी यादवले मनोनयन दर्ता गराएका छन् ।
सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीका इन्दिरा मगर र नेपाली कांग्रसको तर्फबाट यादवले संघीय संसद् भवन नयाँ बानेश्वरमा आज उपसभामुख पदमा मनोनयन दर्ता गराएका हुन् ।
स्वतन्त्र पार्टीका सांसद रानामगरलाई उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले प्रस्ताव गरेका छन् भने समर्थकमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका सांसद नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन रहेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका उपसभामुख पदका उम्मेदवार यादवको प्रस्तावक नेपाली कांग्रेसका सांसद बद्री पाण्डे रहेका छन् भने समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरी र लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।
उपसभामुख निर्वाचनका लागि भोलि दिउँसो १ः०० बजे प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने, प्रस्तावकले प्रस्ताव गर्ने समर्थकले समर्थन गर्ने र उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रम अनुसार निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम रहेको छ ।