कर्णालीका गुणस्तरहिन सडक निर्माणमा संलग्नलाई कार्वाही गर्न मजदूर नेता प्रजापतिको माग

स्काई न्यूज /माघ १०, सुर्खेत ।  नेपाल मजदुर किसान पार्टीका नेता सुनील प्रजापतिले कर्णालीमा टालटुले, गुणस्तरहिन सडककै कारण दिनहुँ सवारी दुर्घटना हुने गरेको बताएका छन् । आज बिहान सुर्खेतको छिन्चुदेखि सदरमुकाम वीरेन्द्रनगर आउँदै गर्दा झुप्राखोला नजिक भएको दुःखद सवारी दुर्घटनाप्रति शोक व्यक्त गर्दै उनले कमसल, अवैज्ञानिक सडकका कारण ४ जनाले अकालमै ज्यान गुमाउनु परेकाले गुणस्तरहिन सडक निर्माणमा संलग्नलाई कार्वाही गर्न माग गरेका हुन् ।

सुर्खेतको वीरेन्द्रनगरमा आइतबार नेपाल मजदुर किसान पार्टी स्थापनाको ४९ औं वर्षमा प्रवेश गरेको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेमकिपाका केन्द्रिय सदस्य तथा भक्तपुर नगरपालिकाका मेयर समेत रहेका नेता प्रजापतिले कर्णालीमा सवारी चालकका कारणले भन्दा पनि कमसल, टालटुले सडकका कारणले सवारी दुर्घटना हुँदा वर्षेनी सयौं नागरिकले अकालमै ज्यान गुमाउनु परिरहेको बताए ।

उनले मूल्यहिन, अवसरवादी राजनीतिले प्रश्रय पाईरहेकाले कर्णालीमा विकास गर्ने भन्दा पनि खाने प्रवृत्तिले आम नागरिकलाई हैरानी र सास्ती व्यहोर्नु परिरहेको जिकिर गरे । ‘नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी पार्टी एउटै पाइलामा हिँडिरहेकाले संघीय संसदमा पूर्वीय लोकतन्त्रको वकालत गर्दै नेमकिपा प्रमुख प्रतिपक्षी पार्टी भएको छ,’ उनले भने, ‘संसदमा नेपाली काँग्रेसले समेत सरकालाई समर्थन गरिसकेकाले प्रतिपक्ष नभएको सरकार तानाशाही हुने हुँदा लोकतन्त्रको सुदृढीकरणका लागि नेमकिपा बलियो प्रतिपक्षको भूमिका खेल्छ ।’

उनले त्यसका संसद सचिवालयमा नेमकिपालाई कानुनबमोजिम प्रमुख प्रतिपक्षी दलमा नियुक्त गर्न आफ्नो पार्टीले माग दावी समेत गरिसकेको जानकारी दिए । एमसीसी, एसपीपी र नागरिकता विधेयकको विपक्षमा नेमकिपाले संसददेखि सडकसम्म सशक्त आवाज उठाउँदै आईरहेकाले जनविरोधी कार्यलाई निस्तेज बनाउन जनमर्थन अपरिहार्य रहेको उनको भनाइ थियो । उनले दलहरुलाई तीन प्रतिशत थ्रेसहोल्ड हटाउनुपर्ने आवाज पनि नेमकिपाले उठाउँदै आएको बताए । कार्यक्रममा नेमकिपा सुर्खेत जिल्ला कार्य समितिका अध्यक्ष हरिबहादुर बोहरा, उपाध्यक्ष प्रेमकुमार थापा र सचिव धनेन्द्र बिकले समेत आफ्ना भनाईहरु राखेका थिए ।

Translate »