कर्णालीका पहाडी जिल्लामा हिमपात

स्काई न्यूज/ माघ १०, सुर्खेत । कर्णाली र  सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा हिमपात भएको छ । कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पासँगै सुदूरपश्चिमका उच्च लेकाली स्थानमा हिमपात भएको स्थानीयले बताएका छन् ।

मंगलबार बिहान करिब ४ बजेदेखि ती जिल्लाहरुमा हिउँ पर्न थालेको हो । लेकाली भेगमा बाक्लो हिउँ जमे पनि बेसीमा भने थोरै मात्र हिउँ परेको छ।उता बैतडीको सिगासमा बिहानदेखि हिमपात भएको का किसान दानसिंह बोहराले बताए । हिमपातका कारण चिसो बढेको छ । चिसोका कारण बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने, वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

यसैबीच हिमपातले किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै किसान खुसी भएका हुन् । लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएको बोहराले बताए ।

Translate »