लामिछाने नेपाली नागरिक नै नरहेपछि पार्टी सभापति र मन्त्री पद पनि गयो, को बन्लान नयाँ सभापति ?

माघ १३, काठमाडौं । रवि लामिछाने नेपालको नागरिक कायम नरहेको सर्वोच्च अदालतको फैसलापछि उनको मन्त्री पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि स्वत: खारेज भएको छ ।

नेपालको संविधानअनुसार कुनै पनि दलको सदस्य वा सांसद हुन नेपाली नागरिक हुनु अनिवार्य छ । लामिछानेको नागरिकता कायम नरहेपछि उनी कुनै पनि दलको सभापति त के सदस्य पनि रहन अयोग्य भएका छन् । सांसद नभएपनि ६ महीनाभित्र सांसद हुने गरी मन्त्री बन्न पाइने कानूनी व्यवस्था भएपनि नेपाली नागरिक नभइ त्यो व्यवस्था समेत कार्यान्वयन गर्न सकिँदैन । त्यसैले उनले नयाँ नागरिकता नलिएसम्म मन्त्री हुन पनि अयोग्य भएका छन् ।


नागरिक हुन अयोग्य व्यक्ति कुनै पार्टीको सभापति नहुने भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद रिक्त भएको छ । अब रास्वपाले पार्टीमा भएका नेताहरू मध्ये कसैलाई सभापतिका रुपमा अघि सार्नुपर्ने छ । सभापति कसलाई बनाउने भन्ने कुरा पार्टीमा निर्णय गर्न रास्वपालाई थप असहज हुने छ ।

रास्वपा कुनै लामो राजनीतिक पृष्ठ भूमिबाट जन्मेको दल होइन । अहिले रास्वपामा हरेक राजनीतिक दलका असन्तुष्ट नेता कार्यकर्ताको ठूलो हिस्सा छ ।

उक्त पार्टीका सभापति रवि लामिछानले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद बदर गरिदिएको छ। सर्वोच्च अदालतको व्याख्याले रवि लामिछाने यतिबेला नागरिकताविहीन बनेका छन् । पार्टी दर्ता गर्दा लामिछानेले पेश गरेको नागरिकता मान्य नहुने भएपछि उक्त पार्टीको सभापति पद समेत रिक्त भएको हो । (आर्थिक अभियान)

Translate »