२०८३ असोज ७ , बुधबार
Sky News Nepal
September 23, 2026

नेपाली सेनाले सुर्खेतमा ‘एकताका लागि दौड’ प्रतियोगिता आयोजना गर्दै



माघ १५, सुर्खेत । नेपाली सेनाको उत्तर पश्चिम पृतना हेड क्वाटर सुर्खेतले वीरेन्द्रनगरमा ‘रन फर युनिटी’ एकताका लागि दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । सेनाले आइतबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रिय संस्कृति जगेर्ना गर्दै खेलकुद क्षेत्रको विकासमा थप टेवा पु¥याउन र विद्यार्थी तथा खेलाडीलाई हौसला बढाउन ‘रन फर युनिटी’ एकताका लागि लामो दुरीको दौड प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा पृतनापति हिरालाल जोशीले नेपाली सेना राष्ट्रिय एकता बनाईराख्न देशको सुरक्षामा मात्र केन्द्रित नभई निर्वाचन, बाढीपहिरो, राहत सामाग्री ढुवानी, वितरण, स्वास्थ्य शिविर, सुत्केरी उद्दार, हेलिप्याड निर्माण, प्रकृति संरक्षण तथा विपद् व्यवस्थापन जस्ता जनहितकारी कार्य गर्दै आईरहेको जानकारी दिए । उनले राष्ट्रिय एकताको भावनालाई अभिबृद्धि गर्न माघ २१ गते आयोजना गर्न लागिएको लामो दुरीको दौड प्रतियोगितामा प्रदेशको पहिचान झल्किने गरी कार्यक्रममा सहभागिता जनाउन आम जनसमुदायसँग अपिल गरे ।

‘रन फर युनिटी’ प्रतियोगितामा विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी, प्रदेश तथा स्थानीय सरकारका जनप्रतिनिधि, बैंक तथा वित्तिय एवं व्यापारिक संस्थानहरु, अन्य सुरक्षा निकायका प्रतिनिधि, नेपाली सेनाका ईच्छुक सकलदर्जा, अन्य संघसंस्था, भूतपूर्व सुरक्षाकर्मी, सञ्चारकर्मी, स्थानीय खेलकुद क्लवहरु एवं आम नागरिकका लागि ५ किलोमिटर, दौड प्रतियोगिता आयोजना गरिएको छ । त्यस्तै १२ कक्षासम्म अध्ययनरत छात्र एवं छात्राका लागि छुट्टाछुट्टै ५ किलोमिटर प्रतियोगिता आयोजना गरिएको छ भने खुलातर्फ महिला तथा पुरुषका लागि छुट्टाछुट्टै १० किलोमिटर प्रतियोगिता आयोजना गरिएको सेनाले जनाएको छ ।

सेनाका अनुसार ५ किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीय हुनेलाई ५ हजार र तृतीय हुनेलाई ३ हजार नगदसहित प्रमाणपत्र तथा १० किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार नगदसहित प्रमाणपत्र दिईनेछ । यहीं माघ २१ गते वीरेन्द्रनगरको खुलामञ्चमा विहान ९ देखि बेलुकी ४ बजेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागिताका लागि सुर्खेतस्थित सेनाका विभिन्न यूनिटबाट माघ १८ गतेसम्म आवेदन फर्म लिन र बुझाउन सकिनेछ । ‘रन फर युनिटी’ कार्यक्रममा सैनिक सामाग्री तथा फोटो प्रर्दशनीसँगै विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिने आयोजकको भनाइ छ ।

प्रकाशित मिति : २०७९ माघ १५ गते आइतबार
Translate »